बीरगन्ज,३१ जेठ । देशका विभिन्न भागमा आज मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय र पूर्वीय वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहनेछ भने अन्य पहाडी तथा तराई भूभागमा आंशिक बदली रहने जनाइएको छ। कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्य रहनेछ।
महाशाखाले वर्षा, मेघगर्जन र चट्याङबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




