बीरगन्ज,२३ जेठ । मधेश प्रदेश प्रहरी संगठनभित्र नेतृत्व र जिल्ला प्रहरी प्रमुखहरूबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको संकेत देखिएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग बढ्दो मतभेदका बीच रौतहट र बाराका प्रहरी प्रमुखलाई एकैसाथ स्पष्टीकरण सोधिएको छ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाल र बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दलाई गत बिहीबार स्पष्टीकरण मागेको स्रोतले जनाएको छ।
बाराका एसपी चन्दले आफूलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे पनि त्यसको कारणबारे विस्तृत जानकारी दिन चाहेनन्। उनले यसलाई संगठनभित्रको नियमित प्रशासनिक प्रक्रिया भन्दै आवश्यक जवाफ बुझाइसकेको बताए।
रौतहटका एसपी रिजालसँग भने सम्पर्क हुन नसकेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार बारा र रौतहट जिल्लामा पछिल्ला महिनाहरूमा सीमावर्ती क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबार नियन्त्रण अभियानलाई तीव्रता दिइएको थियो। जिल्ला प्रहरी कार्यालयहरूले कडाइका साथ निगरानी बढाएपछि प्रदेश नेतृत्वसँग असहमति बढेको दाबी गरिएको छ।
एक वरिष्ठ प्रहरी अधिकृतका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका क्रममा ‘लाइन मिलाउने’ प्रवृत्ति र कार्यशैलीलाई लिएर जिल्ला तथा प्रदेश तहका अधिकारीबीच मतभेद उत्पन्न भएको हो। यद्यपि, यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।
मधेश प्रदेश प्रहरीभित्रको विवाद नयाँ भने होइन। यसअघि सप्तरीका तत्कालीन प्रहरी प्रमुख एसपी गौतमकुमार केसी र धनुषाका तत्कालीन प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरले पनि प्रदेश प्रहरी नेतृत्वसँगको असहमतिपछि स्वेच्छिक सरुवा मागेका थिए। पछि उनीहरूको अन्य जिल्लामा सरुवा भइसकेको छ।
धनुषामा कार्यरत रहँदा एसपी कुँवरमाथि व्यापारीहरूसँग आर्थिक लेनदेन तथा ‘सलामी दस्तुर’ सम्बन्धी आरोपसमेत सार्वजनिक भएको थियो। ती आरोपबारे प्रहरी प्रधान कार्यालयले आन्तरिक अनुसन्धान गरेको भए पनि त्यसको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।
स्रोतका अनुसार पछिल्लो समय डीआईजी थपलियासँग नजिक मानिएका केही ‘घुमुवा’ प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ भने अनुसन्धान शाखामा कार्यरत केही अधिकृतहरूको समेत सरुवा गरिएको छ। यसले संगठनभित्रको आन्तरिक पुनर्संरचना र शक्ति सन्तुलनबारे थप चर्चा सुरु भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले भने स्पष्टीकरण माग्ने कार्यलाई नियमित प्रशासनिक प्रक्रिया भएको जनाएको छ। कार्यालयका अनुसार कार्यसम्पादन मूल्यांकन, अनुशासन तथा प्रशासनिक आवश्यकताका आधारमा समय–समयमा यस्ता कदम चालिने गर्छन्।
तर पछिल्ला वर्षहरूमा लगातार जिल्ला प्रहरी प्रमुखहरूले सरुवा माग्नु, उच्च नेतृत्वसँग असहमति देखिनु र स्पष्टीकरणको श्रृंखला दोहोरिनुले मधेश प्रदेश प्रहरीभित्रको आन्तरिक व्यवस्थापन र नेतृत्व शैलीबारे प्रश्न उठ्न थालेका छन्।




