जनकपुर,०२ असार । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले विद्युतीय चुल्होको प्रयोग बढाएर धुवाँरहित भान्सा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।
धनुषाको लालगढमा आयोजित ‘विद्युतीय चुल्हो नमुना परियोजनाको सिकाइ तथा उपलब्धि’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा जलविद्युत उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको अवस्थामा विद्युतीय चुल्होको व्यापक प्रयोग आवश्यक रहेको बताए।
उनका अनुसार विद्युतलाई केवल ऊर्जा स्रोतका रूपमा मात्र नभई सामाजिक रूपान्तरणको माध्यमका रूपमा प्रयोग गर्न सकिए मधेश प्रदेशलाई देशकै नमुना प्रदेश बनाउन सकिन्छ। उनले विद्युतीय चुल्होले महिलाको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै दाउरा, गुइँठा र एलपी ग्यासमा निर्भरता घटाउन सकिने बताए।
प्रदेश प्रमुख कर्णले परम्परागत धुवाँयुक्त चुल्होका कारण महिलामा आँखा र श्वासप्रश्वाससम्बन्धी समस्या देखिँदै आएको उल्लेख गर्दै विद्युतमा आधारित सुरक्षित र स्वच्छ भान्सा अब व्यवहारिक विकल्प बनेको बताए।
कार्यक्रममा ऊर्जा विज्ञ पुरुषोत्तम घिमिरेले विद्युतीय चुल्हो खरिद गर्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिँदै प्रमाणित उपकरण प्रयोग गर्न सुझाव दिए।
त्यसैगरी गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादवले विकासलाई भौतिक संरचनामा मात्र सीमित नगरी महिलाको स्वास्थ्यसँग जोडिएको स्वच्छ भान्सा अभियानलाई प्राथमिकतामा राखिएको बताए। उनले नगरपालिकाले नवीकरणीय ऊर्जा नीति पारित गर्दै विद्युतीय चुल्हो प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको जानकारी दिए।
उनका अनुसार हालसम्म पाँच सयभन्दा बढी गृहिणीलाई निःशुल्क विद्युतीय प्रेसर कुकर वितरण गरिएको छ भने आगामी वर्ष थप एक हजारभन्दा बढी विद्युतीय चुल्हो वितरण गर्ने तयारी गरिएको छ।
कार्यक्रममा मधेश प्रदेशका ३० भन्दा बढी स्थानीय तहका जनप्रतिनिधि, ऊर्जा क्षेत्रका विज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।




