बीरगन्ज,०२ असार । पर्साको जिराभवानी गाउँपालिकामा सशस्त्र प्रहरीले अवैध रूपमा भित्र्याइएको ७५ किलो भारतीय ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बोर्डर आउट पोस्ट महादेवपटिबाट सशस्त्र प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा खटिएको गस्ती टोलीले जिराभवानी–१ स्थित बलुवा गाउँ नजिकबाट उक्त कुखुरा बरामद गरेको हो।
सो क्रममा ना.१० प २२९५ नम्बरको होन्डा साइन मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको कुखुरा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले जानकारी दिएको छ।
कुखुरा जिराभवानी–१ का वडा अध्यक्ष रामशरण ख्वासको उपस्थितिमा नष्ट गरिएको हो भने नियन्त्रणमा लिइएको मोटरसाइकललाई थप कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको छ।
सीमावर्ती क्षेत्रमा अवैध रूपमा हुने कुखुरा ओसारपसार रोक्न सशस्त्र प्रहरीले नियमित निगरानी र गस्तीलाई थप कडाइका साथ अघि बढाएको जनाएको छ।




