spot_img

उत्तरपुस्तिका गायब भएपछि एसईई पुनर्योग नतिजा प्रकाशनमा ढिलाइ

spot_img
spot_img

काठमाडौँ,०२ असार । एसईई पुनर्योग प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ। करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका नभेटिएपछि पुनर्योग नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पुनर्योगका लागि आवेदन दिएका ३३ हजार ८८७ विद्यार्थीमध्ये ३१ हजार ८५५ जनाको नतिजा प्रकाशित भइसकेको छ। तर बाँकीमध्ये करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका फेला नपरेकाले नतिजा सार्वजनिक गर्न नसकिएको हो।

बोर्डका अनुसार वास्तविक रूपमा सबै उत्तरपुस्तिका हराएको नभई केही दोहोरो आवेदन, केही “मिसिङ” श्रेणी र व्यवस्थापकीय त्रुटिका कारण तथ्यांकमा जटिलता देखिएको छ। यसअघि २,३३५ जनाको नतिजा बाँकी रहेको देखिए पनि क्रमशः समायोजन हुँदै जाँदा करिब एक हजारको केस स्पष्ट नभएको बोर्डले जनाएको छ।

उत्तरपुस्तिका केन्द्र र जिल्लाबाट लापरबाहीपूर्ण रूपमा पठाइएकाले समस्या थप जटिल बनेको बताइएको छ। कतिपय जिल्लाबाट आएका उत्तरपुस्तिकाहरू पोका नै मिलान नभएको अवस्थामा भेटिएको र केही विद्यालयमै छुटेको पनि पाइएको छ।

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, सर्लाहीलगायत जिल्लाका उत्तरपुस्तिका खोजी गर्दा केही विद्यालयमै फेला परेको भए पनि सबैको ट्र्याकिङ गर्न कठिन भइरहेको छ।

पुनर्योग नतिजा ढिलाइ हुँदा ग्रेडवृद्धि परीक्षा प्रभावित भएको छ। नतिजा नआएकै कारण कतिपय विद्यार्थी पूरक परीक्षामा सहभागी हुन बाध्य भएका छन्। केही विद्यार्थी भने नतिजा खोज्दै परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर पुगेका छन्।

सरकारले यस वर्ष परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको थियो। सोहीअनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरेर केन्द्रमा पठाउने व्यवस्था गरिएको भए पनि व्यवस्थापकीय कमजोरीका कारण समस्या देखिएको हो।

बोर्डले अहिले हराएका उत्तरपुस्तिका खोज्ने काम जारी रहेको र फेला परेपछि पुनर्योग नतिजा तुरुन्त प्रकाशित गरिने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय