रौतहट,०३ असार । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनामा १ करोड ४३ लाख ५८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार जेठ महिनाभर सञ्चालन गरिएको विशेष निगरानी तथा नियन्त्रण अभियानका क्रममा उक्त परिमाणको अवैध सामग्री बरामद गरिएको हो। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।
जिल्ला प्रहरी प्रमुख सिताराम रिजालका अनुसार तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने तीन वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।प्रहरी तथ्यांकअनुसार जेठ महिनामा जिल्लाभर विभिन्न प्रकृतिका ११९ वटा मुद्दा दर्ता भएका छन्। ज्यानसम्बन्धी, आत्महत्या, चोरी, आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिकासम्बन्धी र सवारी ज्यानसम्बन्धी मुद्दा उल्लेख्य संख्यामा रहेका छन्।
गम्भीर अपराधतर्फ कर्तव्य ज्यान, हातहतियार, बैंकिङ कसुर, हुण्डी र ठगीसम्बन्धी गरी ३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत प्रहरीले १७० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट १० वर्षभन्दा बढी बराबरको कैद असुल गरिएको तथा ३४ लाख ७३ हजार रुपैयाँभन्दा बढी जरिवाना संकलन गरिएको जनाएको छ। लागुऔषध नियन्त्रणमा सक्रियताप्रहरीले लागुऔषध सम्बन्धी तीन वटा मुद्दा दर्ता गरी चार जनालाई पक्राउ गरेको छ। यस क्रममा १८९ किलोभन्दा बढी गाँजा र केही मात्रामा ब्राउन सुगर बरामद गरिएको छ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सात वटा मुद्दा फर्छ्योट गर्दै पीडितहरूलाई २६ लाख ८५ हजार रुपैयाँ नगद तथा ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५९ सवारीसाधनमाथि कारबाही गरी ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। सोही अवधिमा ८२ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र १२२ जना घाइते भएका छन्।
प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ९२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। साथै जिल्लाभर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन ६ हजारभन्दा बढी विभिन्न प्रकारका गस्ती परिचालन गरिएको पनि प्रहरीले जनाएको छ।




