काठमाडौं,०४ असार । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ देखि असार ३ गतेसम्म चीन भ्रमण गरेका थिए।
भ्रमणका क्रममा बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा दुवै पक्षले आपसी मित्रता, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलका क्रममा नेपालले एक चीन सिद्धान्तप्रति आफ्नो अडान पुनः दोहोर्याउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट गरेको थियो। चिनियाँ पक्षले भने नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन दोहोर्याउँदै विकास सहयोग जारी रहने विश्वास दिलाएको छ।
दुई पक्षबीच पूर्वाधार, ऊर्जा, व्यापार, लगानी, कृषि, सूचना प्रविधि, डिजिटलाइजेशन, पर्यटन, मल आपूर्ति तथा पेट्रोलियम अन्वेषणलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङ तथा सीपीपीसीसी अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गरेका थिए। साथै उनले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुँदै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका अवसरबारे जानकारी गराएका थिए।
त्यसैगरी उनले चिनियाँ विज्ञान प्रतिष्ठानका विभिन्न अनुसन्धान केन्द्र तथा प्रविधि पार्कको अवलोकन गर्दै नेपाल–चीनबीच विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार यस भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा विकास कूटनीतिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




