काठमाडौं,०४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीका नेता तथा सदस्यहरूलाई निर्वाचन आचारसंहिताभित्र रहेर चुनावी गतिविधिमा सहभागी हुन निर्देशन दिएको छ।
बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले महाधिवेशनअघि विभिन्न पदका आकांक्षीहरूले आवश्यकता भन्दा बढी प्रचारप्रसार गरिरहेको निष्कर्ष निकाल्दै सबैलाई संयमित र मर्यादित ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, सदस्यहरूबीच कुनै प्रकारको मतभेद सिर्जना हुन नदिन र पार्टीलाई एकताबद्ध राख्न आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।
बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया विद्युतीय भोटिङ मेसिनमार्फत सम्पन्न गर्ने तयारी अघि बढाएको जानकारी पनि दिएको छ। साथै, विधान संशोधनसम्बन्धी प्रस्तावहरूलाई केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको छ। हालको छलफलअनुसार केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने र प्रदेश सभापतिहरूलाई पदेन सदस्य राख्ने विषयमा समेत बहस भइरहेको छ।
रास्वपाले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले अनिवार्य रूपमा आफ्नो लेवी बुझाएको हुनुपर्ने व्यवस्था गरेको छ। लेवी नतिरेका प्रतिनिधिलाई प्रवेश नदिने निर्णय पनि बैठकले गरेको छ।
पार्टीका अनुसार महाधिवेशनमा करिब २,५०० देखि ३,००० प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। साथै, जिल्ला र प्रदेश समितिहरूबाट पर्यवेक्षक पठाउने व्यवस्था पनि गरिएको छ।
रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ, जहाँबाट पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ।




