काठमाडौं,०४ असार । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अबको तीन वर्षभित्र नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरेका छन्।
प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सडक मर्मतलाई अब पटके नभई नियमित प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताए। यसले लक्ष्यअनुसार गुणस्तरीय सडक पूर्वाधार निर्माण सम्भव हुने उनको भनाइ छ।
मन्त्री लम्सालका अनुसार पालिकासम्म जोडिने सडकलाई प्राथमिकतामा राखी पर्याप्त बजेट विनियोजन गरिएको छ। दुर्गम क्षेत्रका सबै वडा केन्द्रसम्म सडक पुर्याउने लक्ष्यसहित दीर्घकालीन ९ वर्षे कार्ययोजना अघि सारिएको उनले जानकारी दिए।
उनले पहिलो चरणमा तीन वर्षभित्र ट्र्याक खोल्ने, त्यसपछि क्रमशः ग्राभेल र कालोपत्रे गर्ने योजना रहेको बताए।
स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन हुने यस योजनाका लागि आगामी तीन वर्षमा करिब २८ अर्ब ५० करोड रुपैयाँ खर्च हुने उनले उल्लेख गरे।
सरकारले सडक पूर्वाधारलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्ने उद्देश्यसहित काम अघि बढाइरहेको उनको दाबी छ।




