रौतहट,०४ असार । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारस्थित गरुडा–समनपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा एक वृद्धको ज्यान गएको छ। बिहीबार दिउँसो समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशामा अघि बढिरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनको ढाड तथा संवेदनशील अंगमा गम्भीर चोट लागेको थियो।
घाइते महरालाई प्रारम्भिक उपचारका लागि गरुडास्थित अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
दुर्घटनापछि ट्र्याक्टर चालक गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा चालकले मदिरा सेवन नगरेको र उनीसँग वैध सवारी चालक अनुमति पत्र रहेको खुलेको प्रहरीले जनाएको छ।
यता, दुर्घटनापछि मोटरसाइकल चालक सम्पर्कविहीन भएकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




