काठमाडौं,०४ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान र नवप्रवर्तनको क्षेत्रमा पर्याप्त लगानी गर्न सके देशको अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले संघीय, प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विज्ञान, प्रविधि तथा नवप्रवर्तनका कार्यक्रमका लागि छुट्याउन सुझाव दिए।
उनले नवप्रवर्तन भनेको सिर्जनात्मक सोच र नयाँ अवधारणा भएका व्यक्तिलाई आवश्यक स्रोत, साधन र अनुकूल वातावरण उपलब्ध गराउनु भएको उल्लेख गर्दै नेपालमा विगतदेखि अनुसन्धानका कामहरू व्यवहारमा भन्दा कागजमै सीमित हुने प्रवृत्ति रहेको बताए।
मन्त्री पुनले औद्योगिकीकरण र आर्थिक सुधारलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै प्रारम्भिक चरणका लागि बजेटको एक प्रतिशत विनियोजन पर्याप्त हुन सक्ने धारणा व्यक्त गरे।
उनका अनुसार नवप्रवर्तनलाई प्रभावकारी रूपमा अघि बढाउन कानुनी र नीतिगत आधार बलियो बनाउन आवश्यक छ। त्यसका लागि विज्ञान तथा नवप्रवर्तनसँग सम्बन्धित ऐन, नीति तथा नियमावली निर्माणको काम अघि बढाइएको उनले जानकारी दिए।
मन्त्री पुनले विज्ञान तथा प्रविधि तथ्यांक ऐन तथा सरकारको कार्यविभाजन नियमावलीलाई आधार बनाएर मन्त्रालय अन्तर्गत नौ वटा नयाँ नियमावली तयार गर्ने प्रक्रिया सुरु भएको पनि बताए।




