spot_img

झापाका चिया उद्योग पनि बन्द, ६० हजार श्रमिक संकटमा

spot_img
spot_img

काठमाडौं,०४ असार । भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण पूर्वका चिया उद्योगहरू क्रमशः बन्द हुँदै गएका छन्। इलामपछि झापाका उद्योगहरू पनि आजदेखि पूर्ण रूपमा बन्द भएका छन्।

नेपाल चिया उत्पादक संघका अनुसार १ असारदेखि इलामका ५६ उद्योग बन्द भइसकेका छन् भने आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन बगानहरू सञ्चालनमा रोक लगाइएको छ। उत्पादन भएको चिया गोदाममै थन्किन थालेपछि उद्योग सञ्चालन असम्भव बनेको जनाइएको छ।

संघका अध्यक्ष आदित्य पराजुलीले भारतले लगाएको अवरोध हटाउन पटक–पटक सरकारी निकायमा पहल गरिए पनि ठोस सुनुवाइ नभएपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको बताए। “सरकारको बेवास्ताका कारण हामी यस्तो निर्णयमा पुग्यौं,” उनले भने।

निर्यात ठप्प हुँदा उद्योगका गोदामहरू तयारी चियाले भरिएका छन् भने उत्पादन र दैनिक कामकाज प्रभावित भएको छ। उद्योगीहरूका अनुसार बिक्री नै नभएपछि मजदुर तथा कर्मचारीलाई तलब दिनसमेत कठिन अवस्था सिर्जना भएको छ।

झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो, जहाँ वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्छ। कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा निर्यात हुँदै आएको छ।

उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा निर्भर करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजगारी गम्भीर संकटमा परेको छ। समस्या समाधान नभएसम्म बन्द कार्यक्रम जारी रहने संघले चेतावनी दिएको छ।

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी ले प्रतिनिधिसभामा चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको बताएकी छन्। साथै, चिया लगायत कृषि उपजको भण्डारण र बजार व्यवस्थापनका लागि विशेष योजना अघि बढाइएको पनि जानकारी दिइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय