काठमाडौं,०५ असार । कुकुर तथा अन्य जनावरको टोकाइबाट लाग्ने घातक रोग रेबिजविरुद्ध प्रयोग हुने एन्टी रेबिज भ्याक्सिन (ARV) देशभर अभाव भएको छ। सरकारले समयमै खरिद प्रक्रिया अघि नबढाउँदा आपूर्ति संकट सिर्जना भएको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ले समयमै खरिद प्रक्रिया अघि नबढाउँदा भ्याक्सिनको स्टक घट्दै गएको बताइएको छ। हाल टेकुस्थित केन्द्रीय भण्डारणमा समेत न्यून मात्रामा मात्र खोप बाँकी रहेको जनाइएको छ।
खोप तथा स्वास्थ्य सामग्री व्यवस्थापन महाशाखाका अनुसार खरिद प्रक्रिया अघि बढाइए पनि भ्याक्सिन आपूर्ति हुन अझै करिब एक महिना लाग्नेछ। आपूर्ति छिटो गर्न प्रयास भइरहेको बताइए पनि तत्काल संकट समाधान हुने अवस्था छैन।
अभावका कारण उपत्यका बाहिरका अस्पतालहरूमा सेवा प्रभावित भएको छ भने धेरै बिरामीहरू काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप लगाउन पुगिरहेका छन्, जसले त्यहाँ भीड बढाएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार जनावरले टोकेको ४८ देखि ७२ घण्टाभित्र भ्याक्सिन लगाउनु अत्यन्त आवश्यक हुन्छ। ढिलाइ भएमा रेबिज प्राणघातक हुने भएकाले समयमै उपचार आवश्यक मानिन्छ।
नेपालमा वार्षिक करिब ३ लाख मानिस जनावरको टोकाइबाट प्रभावित हुने अनुमान छ भने रेबिजका कारण करिब १०० जनासम्मको मृत्यु हुने गरेको तथ्यांक छ।
सरकारले उपलब्ध गराउँदै आएको यो खोप निःशुल्क भए पनि आपूर्ति व्यवस्थापनमा कमजोरी देखिँदा सर्वसाधारण प्रभावित भएका छन्।




