बीरगन्ज,०५ असार । मधेश प्रदेशअन्तर्गत बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई ५१ हजार रुपैयाँ प्रोत्साहन रकम दिने व्यवस्था लागू गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो प्रावधान समेटिएको हो।नगरपालिकाका अनुसार यस निर्णयको मुख्य उद्देश्य बालविवाह न्यूनीकरण गर्नु, कानुनी उमेरमा विवाह गर्ने संस्कारको विकास गर्नु तथा समाजमा सचेतना अभिवृद्धि गर्नु रहेको छ।
यसअघि मुसहर समुदायलाई लक्षित गरी लागू गरिएको प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्दै अब सबै समुदायका महिलालाई समेट्ने गरी नीति ल्याइएको जनाइएको छ।
कानुनले निर्धारण गरेको २० वर्ष उमेरपछि विवाह गर्नेलाई सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्देश्यसहित यो कार्यक्रम अघि बढाइएको नगरपालिकाले स्पष्ट पारेको छ।




