बीरगन्ज,०५ असार । बीएचसी मेडिकल कलेजको नर्सिङ संकायका विद्यार्थीहरूले पोषणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित एकदिने प्रदर्शनी आयोजना गरेका छन्।
बीएचसी मेडिकल कलेजको प्रवीणता प्रमाणपत्र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले वीरगञ्जको बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटल परिसरमा कार्यक्रम सञ्चालन गरेका हुन्।
प्रदर्शनीमा ४० जना विद्यार्थीले गर्भवती महिला, सुत्केरी आमा, नवजात शिशु तथा बालबालिकाका लागि आवश्यक पोषणसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए। उनीहरूले पोषणयुक्त आहारको महत्व, तयारी विधि, खुवाउने तरिका तथा स्वास्थ्यमा पर्ने प्रभावबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा स्तनपानको महत्व, पूरक आहार, बोतलबाट दूध खुवाउने सही तरिका, सर्वोत्तम पिठोको तयारी, बालबालिकाको अन्नप्रासन, हात धुने विधि तथा पौष्टिक टिफिन बक्स तयार गर्ने तरिकासमेत प्रदर्शन गरिएको थियो।
कलेजकी प्राचार्य उषा घिमिरेका अनुसार विद्यार्थीलाई व्यवहारिक ज्ञानसँगै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो।
अस्पतालमा आएका बिरामी, कुरुवा तथा सेवाग्राहीहरूले समेत प्रदर्शनीबाट पोषणसम्बन्धी उपयोगी जानकारी प्राप्त गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य र पोषण चेतना बढाउन महत्वपूर्ण योगदान दिने बताएका छन्।




