spot_img

स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सत्तारुढ दलकै सांसद् सहभागीः परराष्ट्र भन्छ, ‘जानकारी छैन’

spot_img
spot_img

काठमाडौँ – स्वतन्त्र तिब्बत माग्दै लाटभियामा भएको एक कार्यक्रममा नेपाली सांसद् सहभागी भएसँगै चीनले चासो व्यक्त गरेको छ। काठमाडौँस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसमक्ष यस विषयमा चासो व्यक्त गरेको हो।

मन्त्रालयले लाटभियाको कार्यक्रममा सांसदको सहभागिताको विषयमा अनभिज्ञता प्रकट गर्दै ध्यानाकर्षण भएको जनाएको छ। ‘सांसदका दुई सदस्य लाटभियामा भएको तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा वक्तव्य जारी गर्दै भनेको छ, ‘नेपाल सरकार यस किसिमको सहभागिताको विषयमा अनभिज्ञ रहेको छ।’

परराष्ट्र मन्त्रालयले नेपाल सधैँ आफ्नो एक चीन नीतिप्रति अडिग रहेको र यस किसिमको कुनै पनि कार्य आफ्नो भूमिमा हुन नदिने प्रतिबद्धता दोहोर्‍याएको छ।

लाटभियाको संसदको तिब्बतका लागि सहयोग समूहको सहयोगमा टिबेटियन पार्लियामेन्ट इन एक्साइलले आयोजना गरेको सातौँ पार्लियामेन्टिेरियन कन्भेन्सन अन तिब्बतमा नेपालबाट समाजवादी पार्टीका सांसद प्रदीप यादव र राजपा नेपालका सांसद एकवाल मियाँ सहभागी भएका थिए।

लाटभियाको रिगामा आयोजना भएको सम्मेलनमा नेपाल, भारतसहित देशका २५ सांसद सहभागी थिए।

हालै मात्र राष्ट्रपति भण्डारीले चीनको भ्रमण गरी एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएर फर्किएको साता नबित्दै सत्तारुढ दलकै सांसद पनि स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी हुनुलाई चीनले चासो व्यक्त गरेको हो।

लाटभिया नेपालसँग सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुक हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय