काठमाडौं ९ जेष्ठ — चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको बताएको छ । यद्यपि रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको भन्दै उसले नेपाल सरकारको तर्फबाट पनि सकारात्मक पहल भइरहेको भन्दै खुसी व्यक्त गरेको छ ।
बिहीबार काठमाडौं स्थित दूतावासमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले भनिन, राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन । यद्यपि रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध छ ।
क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन र धेरै खर्चिलो रहेको उनले बताइन् । यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।
बिभिन्न चार चरणका काम पूरा गर्नुपर्ने भन्दै उनले अहिले पहिलो चरणको प्रि(फिसिबिलिटीको काम मात्र सकिएको बताइन् । दोस्रो चरणमा फिसिबिलिटी अध्ययन, तेस्रो चरणमा डिजाइन र चौथो तथा अन्तिम चरणमा निर्माणको काम सुरु हुने उनले बताइन् ।
नेपाल र चीन क्रस बोर्डर रेलवे धेरै महत्वपूर्ण छ । तर यो धेरै कठिन छ, सहज छैन। हामीलाई राजदूत यान्छीले भनिन, यो लामो समयको प्रोजेक्ट हो । तर हामी निर्माणका लागि प्रतिबद्ध छौं ।
यस विषयमा नेपाल सरकार रेल विभागका अधिकारी र चिनियाँ टोलीबीच छलफल जारी रहेको जानकारी उनले दिइन् । उनले भनिन्, ‘हामीले आफ्नो तर्फबाट तयारी जारी राखेका छौं । नेपालको तर्फबाट विस्तृत तयारी जारी रहोस् ।
नेपाल र चीन रेलवे निर्माण गर्न खर्च कति लाग्छ र कुन मोडेलमा बन्छ भन्ने कुराको पनि टुंगो नलागेको जानकारी उनले दिइन् ।
‘तातोपानी नाका अर्को हप्ता खुल्छ’
चिनियाँ राजदूत यान्छीले भूकम्पले क्षति र्पुयाएको तातोपानी नाका अर्को हप्ता खुल्ने जानकारी दिइन् । ‘धेरै खतरा र चुनौतिको बाबजुद पनि हामीले निर्माण कार्य सकेका छौं । अब अर्को हप्ता तातोपानी नाका खुल्छ,’ उनले भनिन, ‘यसमा हामीले महत्वपूर्ण प्रगति हासिल गरेका छौं ।’
तातोपानी नाका अर्को हप्ता खुल्ने बताए पनि उनले ठ्याक्कै मिति भने खुलाइनन् ।
राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण उपयुक्त समयमा हुने बताइन् । बीआरआई फोरममा नेपालको राष्टपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण गर्न निम्तो गरेको र चिनियाँ राष्ट्रपति सिले सकारात्मक जवाफ दिएको उनले जानकारी दिइन् ।