काठमाडौं, ११ जेठ । २ फागुन ०७४ मा नख्खु कारागारबाट रिहा हुनासाथ युनुस अन्सारी पाकिस्तान पुगेको प्रहरीले खुलाएको छ ।
नक्कली नोट र जेलसँग लुकामारी गरिरहने युनुस पाकिस्तान पुगेर फर्किनासाथ उनको निगरानी नेपाल प्रहरीले गरेको थियो । अचानक शुक्रबार उनी संलग्न रहेको ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोट प्रकरणको अप्रेशन सफल भयो । ‘यो अचानक भएको थियो । अनि युनुस नै यस प्रकरणमा जोडिएका छन् भन्ने विषय खुल्यो’, प्रहरी अधिकारी भन्छन् ।
भारतमा अन्डरवल्र्ड डन दाउद इब्राहिम र आतंकवादी संगठनसहित पाकिस्तानी गुप्तचर संस्था आइएसआईले नेपालबाट नक्कली नोटको कारोबार गराउँदै आएको र त्यसमा युनुसको सक्रिय संलग्नता रहेको भारतीय दाबी हुँदै आएको छ ।
अन्सारी नक्कली नोटको कारोबारमा पटक–पटक पक्राउ पर्दा भारतीय दाबीमा नजरअन्दाज गर्ने ठाउँ भेट्दैन नेपाल प्रहरी । शुक्रबार पनि त्यस्तै भयो ।
पाकिस्तानको कराँचीबाट कतार हुँदै नेपाले विमानस्थलमा दुईवटा सुटकेसमा ल्याएको २ हजार दरका ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित अन्सारी पक्राउ पर्नु भारतीय दाबीका प्रमाण रहेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरु ४९ वर्षीय मोहम्मद अख्तर, ६७ वर्षीय नासिर उद्दिन र राहदानी ३९ वर्षीय नादिया अनवर पनि पक्राउ परे । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए । युनुसलाई विमानस्थलमा रकम लिन जाँदा पक्राउ गरिएको थियो ।
रौतहट जिल्ला रमौली बैरिया नगरपालिका–१ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए । उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए ।
युनुस जोडिएको जाली नोट काण्डको नालीबेली
६ असोज ०६७ मा विमानस्थलबाट बरामद भएको करिब ४१ लाख नक्कली भारतीय रुपैयाँ पनि उनकै संलग्नतामा भित्रिएको दाबी गरिएको थियो । अन्सारी पहिलो पटक १८ पुस ०६६ मा नक्कली भारतीय रुपैयाँ र साढे ३ किलो खैरो हिरोइनसहित पक्राउ परेका थिए ।
२६ फागुन ०६७ मा उनीमाथि कारागारभित्रै गोली हानी हत्या गर्ने प्रयास भयो । गोली ननिस्कँदाको करिब ५ सेकेण्ड मौका पाउँदा अन्सारीले लुक्ने मौका पाएका थिए । त्यसपछि बाहिर आएर बन्दुक फ्यालेर उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । पछि अन्सारीमाथि अन्डरवल्र्ड डन बब्लु श्रीवास्तवले गोली हान्न सजित सिंहलाई लगाएको सार्वजनिक भएको थियो ।
नेपालमा ‘नेशनल टेलिभिजन’ सञ्चालनका क्रममा उनी ३५ लाख नक्कली भारतीय नोट काण्डमा जोडिएका थिए । त्यसबेला उनले आफूलाई षडयन्त्रका साथ पक्राउ गरिएको आरोप लगाउँथे ।
घटनाको प्रमुख अभियुक्त मानिएका अन्सारी भने आफूमाथि षडयन्त्र भएको बताएका थिए । प्रहरी हिरासतमा नैै उनले सञ्चारकर्मीसँग भनेका थिए, ‘म टेलिभिजन सञ्चालनको क्रममा थिएँ तर मलाई षडयन्त्रपूर्ण ढङ्गबाट फसाइयो ।’
यसअघि अन्सारीले सञ्चालन गरेको नेशनल टेलिभिजन उनी जेल परेपछि बन्द भएको थियो ।
घटनामा नै संलग्न आलेले भने आफूले अन्सारीले लगाएर नै यो काम गरेको सञ्चारकर्मीलाई बताए । उनले यसअघि पनि १५ हजार लिएर काम गरेको र दोस्रोपटकमा पक्राउ परेको बताए । आले लागुऔषध खैरो हेरोइन २५ ग्रामसहित पक्राउ परेर १० वर्ष कैद सजाय पाएका थिए ।
अन्सारी यसअघि २०६६ पुस ७ गते थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सको कोठा नम्बर ६११ बाट २५ लाख ४४ हजार ५०० नक्कली भारतीय रुपैयाँ र तीन केजी ७०० ग्राम खैरो हेरोइनससहित पक्राउ परेका थिए ।
तीन वर्ष नौ महिना जेल सजाय भोगिसकेका अन्सारीले जेलमा नै आलेसँग भेटेका थिए ।
पाकिस्तानी नागरिक आलम पाकिस्तान एयरलाइन्सको पिके २६८ नम्बरको उडानबाट नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।
काठमाडौँ झरेपछि उनी ठमेलस्थित पोताला गेष्ट हाउस पुगेका थिए । गेष्ट हाउसमा नै रकम लिन दिनेश आले ठमेल पुगेको र त्यही बेला दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आलमले एक हजार दरका तीन हजार ५०० थान नक्कली भारतीय रुपैयाँ शरीरमा बाँधेर लिएर आएको प्रहरीले जनाएको छ ।
प्रहरीले आलमको पाकिस्तान एयरलाइन्सको परिचयपत्र, पासपोर्ट र हवाइ टिकेट तथा खानको नामको भारतीय र नेपाली पासपोर्ट बरामद गरेको छ ।
अन्सारी पक्राउ परेलगत्तै भारतीय नक्कली रुपैयाँको कारोवारमा निक्कै कमी आएको र अन्सारी छुटेलगतै कारोवार बढ्न थालेको काठमाडौँ प्रहरीले दाबी गर्दै आएको थियो ।
जेलबाट छुटेपछि यसअघि पनि अन्सारीकै निर्देशनमा एकपटक भारतीय नक्कली नोट नेपाल ल्याइएको र त्यहाँबाट दिल्ली पठाउन सफल भएपछि हौसिएर फेरि कारोबार सुरु भएको प्रहरीको बुझाइ छ ।
किन मार्न चहान्छ भारत ?
हालै भारतमा आतंवादविरोधी र पाकिस्तानविरोधी राष्ट्रवादी नाराका साथ भारतीय जनता पार्टीको प्रचण्ड बहुमतको सरकार बन्ने तयारीमा छ । नरेन्द्र मोदी फेरि प्रधानमन्त्रीका सपथ लिने तयारीमा छन् ।
भारतमा असर पार्नेगरी उक्त नोट नेपाल हुँदै भारत छिराउने तयारी भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, प्रहरीले यसमा अनुसन्धान जारी राखेको छ ।
कतिपयले युनुस अन्सारीलाई भारतीय प्रशासनले हत्या गर्न सक्ने भएका कारण स्वगिरफ्तारीका लागि यो प्रकरणमा उनी आफंंै खुलेको बताइन्छ । यद्यपि, यसको पुष्टि भने अनुसन्धानपछि मात्र हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।
यसै पनि अन्सारीलाई भारतीय पक्षले पटक–पटक निशानामा नराखेको होइन । केही बर्ष अघि केन्द्रीय कारागार सुन्धारामा उनीमाथि गोली प्रहार भएको थियो । भारतीय नागरिक मनमित भनिने जसजीत सिंहले उनीमाथि गोली चलाएका थिए ।