तराईको खेतमा पानी छैन, उच्चतम तापक्रमसंगै धान दिवस

spot_img

मिश्रा राजेश
उच्चतम तापक्रम करिब ४५ डिग्री सम्मको तापक्रम झेलिरहेको प्रदेश २ मा शनिवार राति र आइतवार अर्थात् धान दिवसको बिहान सामान्य पानी परेपछि तापक्रम भने केहि कम भएर ३७ डिग्रीमा झरेको छ । खेतमा पानी छैन । बिऊ जलिरहेको छ । तर, आज धान दिवस, सरकारी चलन अनुसार आज मनाउनै पर्ने बाध्यता छ । अपवाद बाहेक, तराइमा यस बर्ष असारको आधा महिना बित्न लाग्दा धान रोपाई हालसम्म देखिएको छैन । कृषक पिडामा छन् , सरकार भने धान दिवस मनाइरहेको छ । स्थानीय जनप्रतिनिधि महोदयहरु पनि आज राष्ट्रिय धान दिवस मनाएर दहि चिउरा, मिठाई र आँप खानुभयो । तर, कृषक भने मौसमको प्रतिकुल असरका कारण धन रोपाई हुन नसकेर पिडामा गित गाउन बाध्य छन् “मेघा रे मेघ रे‘.“।

जलवायु परिवर्तनको असरले यसपाला नेपालमा मनसुन करिब एक हप्ता ढिलो आइपुगेको हो । बेलैदेखि बर्खा शुरु त भएको छ तर पर्याप्त वर्षा नभएको कारण खेतहरुमा रोपाँईका लागि पानी जम्मा हुन् सकेको छैन । डल्लाहरु फुटाइए त ? माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याक्टरले ? खेतालाहरु पाइन्छ त ? अनि धानको बिऊ चाँही कत्तिको फस्टाएको छ ? अरु धेरै प्रश्नहरु छन् कृषीप्रधान देशका कृषीप्रेमी तराई बासीहरुलाई सोध्नपर्ने । कुन धान रोप्दै हुनुहुन्छ ? कान्छी मन्सुली, सोना मन्सुली, कतरनी, बास्मती या अरु नै कुनै ? असार १५ को रौनकमा स्वागत छ , यसबर्ष पनि अरु बर्षहरु जस्तै छिटफुट काला बादलका मेघमलाहार , हिलो अनि हरियोका साथ असार आइपुगेको छ असार अर्थात बिक्रम संवतको तेश्रो महीना, शाब्दिक अर्थ केलाउने हो भने असार ईरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषीप्रधान गाँउ हो । स्मरण रहोस् नेपाली शब्दकोषमा ईरानी शब्दहरु आयामेली शब्दका रुपमा हामीले धेरै प्रयोग गर्दछौ, यसअर्थमा ईरान र देवनागिरी लिपीसँग पुरानो समबन्ध रहेको पुष्टि हुन्छ, असार शब्दको पृष्ठभुमीले पनि एउटा प्रमाण ईरानतर्फ देखाएको छ ।

जे होस् असारलाई बुझ्न हामीले शब्दको शल्यक्रिया गरिरहन जरुरी छैन, धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यका लागि बिशिष्ट मानिन्छ । असारको १५ लागे पनि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु तराई तिर वर्षाएका छैनन । माटोहरु पानीमा रुझेर हिलोको स्वरुपमा कमलो भएपछि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्ने गर्दछौ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ । तर, आधुनिक जीवन शैली र प्रकृति बिरुद्धको कार्यले हामी मानव स्वयम् जलवायु परिवर्तनको चपेटामा परिरहेका छौं ।
यधपि, सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठेजोरी खेलेर हेरौ, नेपाली परिवेशको जीवनशैली प्रकृती र माटोसँग अत्यन्त निकट छ ।

हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु धान रोप्न छिरेका खेतालाहरुको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई वा पम्पियाव भनिन्छ, समान्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी, प्याज र अचार आदी लगिदिने चलन छ । तराईतिर खेतका मालिक आँफैँ धान रोपाँईमा खेत आईपुगे भने सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ ।

आषाढ महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । आषाढे महिनामा पानी पर्यो रुझाउने, आषाढे मासमा धान रोपेझैँ खेतमा लगायतका बिभिन्न रोमाञ्चक र जनमानसमा प्रचलीत गीतहरु पुस्तौँदेखी आषाढको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापी पहिले पहिले जस्तो रोपाँईका गीतहरु खेतमा लाम लागेर धान रोप्दै सामूहिक रुपमा गीत गाँउदै गरिने धेरै कम मात्र पाईन्छ । यस्ता गीतहरु धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जस्ले गर्दा काम गर्ने खेतालाहरुले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् ।

यस्ता रोपाईंहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्यस्तता बिच थकाई मारिने चाड हो, दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकाले नै होला आषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैंसीको दुध आँफैले जोरन हाली जमाएर बनाएको दहि अनि ढिकी या ओखलमा कुटेको धानको चिउरालाई पूरईनको पात (दुनाटपरी) मा राखी दहिको तरल पदार्थ टपरीवाट नझरोस भन्दै सन्तुलन मिलाएर खाएको दहि चिउराले संसार बिर्साउदछ । तर, अचेल ढिकीको चिउरा पाउनु भनेको हिमाल बाट हिम ल्याउनु जस्तै हो । आधुनिक युगमा पारम्परिक समाग्रीको कल्पना गर्नै गार्हो छ ।

कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली स्वाभिमान अनि कृषीकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हाम्रा माटो अनि खोलाका पानीको घनत्वको गहिराईसम्म उत्पादकत्व अनि पौरख लुकेको छ ।

हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् । अब राष्ट्रिय धान दिवसमा नेपालीहरुमा कृषीकर्मप्रतिको एउटा अठोटको खाँचो छ । आषाढे झरिले धानको रोपाई राम्रो होस, त्यो झरिको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस अनि धानको बिउँ सँगै एकअर्कासँग माया प्रेम र सदभावको पनि बिजारोपण गर्न सकौं, माया बढिरहोस । घरका छानाहरु पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरु टालिदै जाउन् अनि तुहीने सपनाहरु जागृत हुदै जाउन् ।

यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषी हैन व्यवसायीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्र्वा्धिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषीकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् । धान दिवसको सबैमा शुभकामना।

spot_img

ताजा अपडेट

लोकप्रिय