बजेट सर्वसम्मतीबाट पास, प्रदेश २ को प्रदेशसभामा नयाँ परम्पराको सुरुवात

spot_img

जनकपुरधाम, १ साउन   — प्रदेश २को बजेट प्रदेश सभाबाट सर्वसम्मतीले मंगलवार पारित भएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की साँसद सीता गुरुंग र नेपाली काँग्रेसका साँसद शिवचन्द्र चौधरीले दर्ता गराएको खर्च कटौती प्रस्ताव फिर्ता लिएपछि बजेट सर्वसम्मतबाट पारित भएको हो ।

प्रदेश २ मा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश सभा सचिवालयमा प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित भएपछि नयाँ परम्पराको सुरुवात भएको छ । संसदीय चलन अनुसार विपक्षीले बजेटको सांकेतिक विरोध गर्न कटौती प्रस्ताव राख्ने र त्यो बहुमतले असफल हुनेगर्छ । मन्त्री यादवले गत असार २७ गते प्रदेशसभामा आर्थिक बर्ष २०७६÷७७ को विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।उनले असार १ गते बजेट प्रस्तुत गरेका थिए ।

सरकारले प्रस्तुत गरेको विधेयक उपर प्रतिपक्षी सांसदहरुले उठाएको सवालमा मुख्यमन्त्री लालबाबु राउत सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाव दिएका थिए । प्रदेश सभामा बजेट विनियोजनमाथि आइतवारदेखि नै छलफल सुरु भएको थियो ।विनियोजनमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका थिए । चालु आर्थिक वर्षमा बजेट खर्चको क्रम कमजोर रहेपनि अगामी आर्थिक वर्षमा बजेट खर्चको क्रम बढने बताइएको छ ।

आर्थिक मामिला मन्त्री यादवले अगामी आर्थिक वर्षमा प्रदेश बैंक स्थापना गर्ने रकम राखिएको जनाउँदै बजेटमा कुनै दलका कार्यकर्ता पाल्ने मनसाय नराखिएको बताए । ‘बजेटमा राखिएको अवण्डा रकमबाट म पनि सन्तुष्ट छैन्’मन्त्री यादवले भने, तर त्यसो नगर्न संविधान मै संशोधन गर्नुपर्छ ।उनले बजेटको दुरुपयोग हुने कुनै संभावना नरहेको बताउँदै साँसदहरुलाई विश्वास गर्न आग्रह गरे ।

असार १ गते प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हाजर र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो । सरकारले प्रस्तुत गरेको विधेयक उपर प्रतिपक्षी सांसदहरुले उठाएको सवालमा मुख्यमन्त्री लालबाबु राउत सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाव दिएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो ।

म्ंगलबार संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विगतमा मन्त्रीहरुले जे गरेपनि आगामी दिनमा सांसदहरुको सहभागितामा बजेट खर्च गर्ने प्रतिबद्वता जनाए । उनले आगामी दिनमा सबै सांसदको रोहबरमा बजेट खर्च हुने बताएपछि सत्तासिनका साथै प्रतिपक्षी सांसदहरुले समेत तालीको गडगडाहट गरेका थिए । नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरी र नेकपामा सदस्य सिता गुरुङ्गले खर्च कटौतीको प्रस्ताव दर्ता गराए पनि सत्तापक्षको आग्रह पछि उनीहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।

प्रदेश सरकारले यस पटक निर्वाचित सांसदले रु ३ करोड र समानुपातिक सांसदले रु १ करोडका दरले पाउने गरी बजेट ल्याएको छ । यसमध्ये निर्वाचित सांसदले रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने भएका छन् । यस्तै समानुपातिक सांसदले रु १ करोडका दरले बजेट पाउने भएका छन् । यो बजेट समानुपातिक सांसदहरुले आफ्नै इच्छा अनुसार खर्च गर्न पाउनेछन् । प्रदेश २ मा ६४ जना समानुपातिक र ४१ जना समानुपातिक गरी १ सय ७ जना सांसद छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय