पाेखरा प्रिमियर लिगको उपाधि पारस खड्का नेतृत्वको चितवन राइनोजले जितेको छ ।
पोखरामा शनिवार सम्पन्न फाइनल भिडन्तमा चितवनले विराटनगर टाइगरलाई ३२ रनले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।
चितवनले पेश गरेको २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र जोड्न सक्यो ।
उसका लागि मोहम्मद जैद आलमले ५७, कप्तान प्रदीप ऐरीले ३६ र पुनित मेहराले ३२ रनको योगदान गरे पनि टीमलाई जीतसम्म डोहोर्याउन सकेनन् ।
पुनितले १३ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै केही आशा जगाएका थिए, तर उनको पनि केही लागेन ।
चितवनका लागि करण केसीले सर्वाधिक ३, सन्नी पटेलले २ तथा रोहन मुस्ताफाले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर २०२ रन जोडेको थियो ।
चितवनका लागि रोहन मुस्ताफा र अनिल साहले समान ५०, करण केसीले २६, पारस खड्काले २५, आरिफ शेखले १९ रन र सन्नी पटेलले १६ रनको योगदान गरे ।

