बीरगन्ज,१८ वैशाख । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गौतम बुद्धको शान्ति, अहिंसा र ज्ञानको मार्गलाई आत्मसात् गर्दै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै विश्वशान्तिको कामना पनि व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले बुद्धले देखाएको मार्ग नै दुःखबाट मुक्ति दिलाउने वास्तविक बाटो भएको उल्लेख गर्दै जीवनलाई ज्ञान र समाधानको यात्रासँग जोड्नुपर्ने बताएका छन्। उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै समाजलाई ज्ञानको उज्यालोतर्फ उन्मुख हुन आग्रह गरे।
उनले आफ्नो सन्देशमा अज्ञानतालाई अँध्यारोसँग तुलना गर्दै ज्ञान फैलिँदै जाँदा भ्रम र अन्याय स्वतः हट्दै जाने धारणा व्यक्त गरेका छन्। बुद्धको जन्मभूमि नेपाल सधैं शान्ति र अहिंसाको पक्षमा उभिएको उल्लेख गर्दै उनले देशको भविष्य पनि विवेक, चेतना र समाधानमुखी सोचमा आधारित हुनुपर्ने बताए।
प्रधानमन्त्री शाहले क्रान्तिको अर्थलाई नयाँ ढङ्गले व्याख्या गर्दै भने, “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ भनेको ज्ञान हो।”
उनको यो भनाइले समाज परिवर्तनका लागि हिंसा वा संघर्षभन्दा चेतना, शिक्षा र बौद्धिक विकासको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको छ। उनले बुद्धको दर्शनलाई व्यवहारमा उतार्दै शान्तिपूर्ण र सभ्य समाज निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।

