वीरगन्ज,१८ वैशाख । आफ्नै बाबुको हत्या गरेर करिब १८ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले चितवनबाट पक्राउ गरेको छ। आर्थिक समस्या र जग्गा विवादका कारण भएको भनिएको उक्त हत्याकाण्डका आरोपी राम बिलास महतोलाई प्रहरीले वैशाख १६ गते नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ (साबिक जयमनगर–४) निवासी ६८ वर्षीय विशेष महतो कोईरीको हत्या भएको थियो। घटनामा संलग्न रहेका मृतकका कान्छा छोरा राम बिलास महतो लामो समयदेखि फरार थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपीले ऋणको दबाब र जग्गा विवादबाट छुटकारा पाउन योजनाबद्ध रूपमा बाबुको हत्या गरेका थिए। घटना भएको रात बाबु सुतिरहेको अवस्थामा हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा आक्रमण गरिएको प्रहरीले जनाएको छ।
हत्या पछि ऋण तिर्नु नपर्ने र अन्य व्यक्तिलाई ज्यान मुद्दामा फसाउने उद्देश्य समेत आरोपीको रहेको प्रहरीको दाबी छ। घटना लगत्तै परिवारसहित फरार भएका उनलाई विशेष सूचनाका आधारमा चितवनबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) विष्णु प्रदीप बस्यालका अनुसार आरोपीमाथि थप अनुसन्धान भइरहेको छ। लामो समयपछि हत्यामा संलग्न व्यक्ति पक्राउ परेपछि स्थानीयवासीले न्याय प्रक्रियामाथिको विश्वास अझ बलियो बनेको बताएका छन्। प्रहरीले पुराना घटनाको अनुसन्धानलाई समेत सक्रिय रूपमा अघि बढाइरहेको जनाएको छ।

