रिंकुकुमारी हत्या प्रकरणमा वडा सदस्यसहित १४ जना दोषी ठहर

spot_img

सिरहा,१८ वैशाख । नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायमाथि भएको सामूहिक बलात्कार तथा त्यसपछिको शङ्कास्पद मृत्यु प्रकरणमा सिरहा जिल्ला अदालतले वडा सदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ।

मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले फैसला सुनाएको हो। अदालतका सूचना अधिकारी राधेश्याम यादवका अनुसार घटनामा प्रत्यक्ष संलग्न, सहयोग गर्ने तथा घटना दबाउन पञ्चायती गर्ने व्यक्तिहरूलाई फरक–फरक सजाय निर्धारण गरिएको छ।

घटना लुकाउने प्रयासमा संलग्न वडा सदस्य नथुनी साहसहित रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायलाई जनही आठ महिना कैद र सात हजार रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ। जनप्रतिनिधिको जिम्मेवारीमा रहेर अपराधलाई संरक्षण दिएको ठहर गर्दै वडा सदस्य साहलाई थप ६ महिना कैद सजायसमेत सुनाइएको छ।

अदालतले घटनामा प्रत्यक्ष संलग्न तीन नाबालकलाई पनि दोषी ठहर गरेको छ। साथै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन दोषीहरूबाट जनही ३५ हजार रुपैयाँ असुल गरी पीडित पक्षलाई दिन आदेश दिएको छ।

अदालतको फैसलाअनुसार २०८१ साल माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुमाथि स्थानीय तीन युवकले सामूहिक बलात्कार गरेका थिए। गम्भीर अवस्थामा घर फर्किएकी उनले आफ्नी आमालाई घटनाबारे जानकारी दिएकी थिइन्। तर, घटनालाई प्रहरीसम्म पुग्न नदिई गाउँमै मिलापत्र गर्ने प्रयास गरिएको थियो।

माघ २९ र ३० गते स्थानीय तहमा दुई पटक पञ्चायती बसालेर घटनालाई दबाउने प्रयास गरिएको अदालतले ठहर गरेको छ। उक्त पञ्चायतीले आरोपीहरूबाट एक लाख ५१ हजार रुपैयाँ जरिवाना उठाएर विषय मिलाउने निर्णय गरेको थियो। तर रकम बाँडफाँटमै विवाद भएपछि अवस्था थप जटिल बनेको थियो।

त्यसपछि माघ ३० गते रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। घटनास्थितिको प्रकृति र बाहिरबाट ढोका बन्द रहेको अवस्थाले उनको मृत्यु सुरुदेखि नै शङ्कास्पद मानिएको थियो। अदालतको यो फैसलालाई महिला हिंसाविरुद्धको गम्भीर अपराधमा कानुनी उत्तरदायित्व स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय