बारा, ६ फागुन – किर्ते कागजपत्र बनाई सरकारी जग्गा भोगचलन गर्न खोज्ने सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराले सर्वोच्च अदालतका निवर्तमान सुब्बा सहित सात जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको आरोपमा सर्वोच्च अदालतका निवर्तमान नायब सुब्बा हस्त बहादुर नेपाली, बारा महागढीमाई नगरपालिका वडा नं. ८ का बोहाव अन्सारी, बारा कलैयाका प्रहल्लाद प्रसाद रेग्मी र कैलाली जिल्ला गोदावरी नगरपालिकाका चन्द्र बहादुर सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार पत्रकार सम्मेलन गर्दै आरोपीहरुलाई सार्वजनिक गरेको हो ।
छानविनको क्रममा बारा जिल्लाको जीतपुरसिमरा वडा नम्बर २३ को साविक कित्ता नम्बर ६१ को एक बिगहा १० कठ्ठा सार्वजनिक जग्गा काठमाण्डौं निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न चारै जनाको मिलोमतोमा कागजपत्र किर्ते गरिएको पाइएको बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पँगेनीले जानकारी दिनुभयो । प्रहरीले म्याद थप गरी सरकारी कागज किर्ते मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको पँगेनीले बताउनुभयो ।
निज पाण्डेले सर्वोच्च अदालत कै कर्मचारीलाई प्रभावमा पारी बीरगंज–पथलैया सडकखण्डसँगै जोडिएको २० बिगहा बहुमूल्य जग्गा आफ्नो नाममा दर्ता नै गराईसकेको अनुसन्धानमा देखिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
यस्तै, प्रहरीले कागज जालसाजी प्रकरणमै बाराको जीतपुरसिमरा वडा नम्बर २ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेका जग्गा बेचबिखन गरेको अर्को मुद्दामा पर्सा जिल्ला बीरगन्ज महानगरपालिका वडा नं. १८ का बलराम रौनियार, पर्साकै बहुदरमाई नगरपालिका २ बस्ने सलिम मियाँ र सोही ठेगाना बस्ने अर्का सुनिल कुमार यादवलाई समेत पक्राउ गरी मंगलबार नै सार्वजनिक गरेको छ ।

