spot_img

नेपाल–भारत सीमा नियन्त्रणमा कडाइ नगर्न सोनलको चेतावनी

spot_img
spot_img

बीरगन्ज,०२ असार । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल ले नेपाल–भारत सीमामा कडाइका साथ नियन्त्रण गर्न खोजिए मधेसमा विद्रोह हुन सक्ने चेतावनी दिएका छन्।

मंगलबार बाराको कलैयामा मधेस मिडिया काउन्सिलले आयोजना गरेको कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता समेत रहेका सोनलले सीमा व्यवस्थापन आवश्यक भए पनि पूर्ण नियन्त्रणको प्रयास जनताको हितविपरीत हुने बताए।

उनले नेपाल र भारत बीचको सीमाले भौगोलिक विभाजन गरे पनि दुवै देशका नागरिकबीचको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध युगौंदेखि कायम रहेको उल्लेख गरे। यस्तो अवस्थामा सीमा आवतजावत र व्यापारमा अत्यधिक कडाइ गर्दा मधेसका जनतामा असन्तुष्टि बढ्ने उनको भनाइ थियो।

सोनलले सीमावारि–पारि हुने व्यापार परम्परागत रूपमा चल्दै आएको उल्लेख गर्दै सरकारले ‘एक सय रुपैयाँभन्दा बढीका सामान ल्याउन नपाइने’ जस्ता प्रतिबन्ध लगाउनु प्रतिउत्पादक हुने चेतावनी दिए। “जनताले दिएको मतादेशलाई हामीले सम्मान गरेका छौं, तर त्यही मतको आडमा जनतालाई दुःख दिने काम स्वीकार्य हुँदैन,” उनले भने।

उनले केन्द्र सरकारले संवैधानिक निकायहरूमा हस्तक्षेप गरिरहेको आरोप समेत लगाए। विशेषगरी निर्वाचन आयोग नेपाल का पदाधिकारीहरूले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै त्यस्ता निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिए।

त्यसैगरी, उनले स्वतन्त्र प्रेसबिना सुदृढ लोकतन्त्र सम्भव नहुने उल्लेख गर्दै सञ्चार क्षेत्रलाई लोककल्याणकारी विज्ञापनको निरन्तरता आवश्यक रहेको बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय