बारा, ६ फागुन – बारा प्रहरीले मंगलबार ठूलो परिमाणको मदिरा र मदिरा बनाउन तयारी गरिएको कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लगभग ९ हजार लिटर कच्चा पदार्थ र ५ सय लिटर तयारी मदिरा नष्ट गरेको हो ।
प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नं. ३ बतरा टोलबाट सो परिमाणको मदिरा र मदिरा बनाउन तयारी गरिएको कच्चा पदार्थ नष्ट गरेको हो । सो टोलमा अवैध रुपमा सन्चालित घरेलु मदिरा भट्टीबाट सो परिमाणको मदिरा र कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।
यस्तै, बारा प्रहरीले मंगलबार नै बहुविवाह मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतमा बिचाराधिन अवस्थामा रहेको बहुविवाह मुद्दामा फरार रहेका जिल्लाकै करैयामाई गाउँपालिका वडा नं.४ लौतनटो हसमुल्लाह अंसारीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको जनाएको छ ।

