बीरगन्ज, १४ फागुन – प्रदेश न. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भारत सरकारले नेपालको विभिन्न क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउनुपर्ने बताउनुभयो । यस्तै, मन्त्री रायले आगामी दिनमा सो को निरन्तरताको अपेक्षा गर्नुभयो ।
दुतावास बीरगन्जले आयोजना गरेको “भारतिय संघ सरकारको आर्थिक वर्ष २०२०/२१ को बजेटका महत्वपुर्ण पक्षहरु, नेपाली आयातकर्ता, निर्यातकर्ता तथा लगानीकर्ताका लागि अवसर” विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री रायले सो कुरा बतानुभएको हो । उहाँले छिमेकी देश भारत र नेपालको बिचको सम्बन्ध रोटीबेटीको मात्रै नभएर आर्थिक, व्यापारिक र प्राकृतिक पनि भएकाले हरेक क्षेत्र भारत र नेपाल सहयोगीको रुपमा रहनुपर्ने थप्नुभयो ।
गोष्ठीमा वीरगन्ज कलेजका संचालक समिति अध्यक्ष तथा अर्थविद डा. दिपेन्द्र कुमार चौधरीले भारतिय युनियन बजेट २०२०–२१ का मुख्य विशेषताहरु तथा बजेटले नेपालमा पर्न सक्ने सम्भावनाका बारेमा मुख्य प्रवक्ताको रुपमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी, भारतीय दुतावासका वाणिज्य दुत डा. कोट्रास्वामीले बजेटको निती तथा सहजताका विषयमा अवगत गराउनुभएको थियो । कार्यक्रममा जनरल कन्सुल नितेश कुमार, प्रदेश न. २ का प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, उद्योगी अशोक वैद्य, गणेश लाठ लगायतका उद्योगी, व्यावसायी, सञ्चारकर्मी, सुरक्षाकर्मीको उपस्थिती रहेका थियो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी विवेक कर्णले गर्नुभएको थियो ।

