पोखरिया, २२ फागुन – बालक अब्दुल्लाहको हत्या प्रकरणका दोषीले कुनै पनि हालतमा सजाय पाउने पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताउनु भएको छ । । अब्दुल्लाहको शव भेटिएको पोखरी लगायत घटनासँग जोडिएका स्थानमा बिहीबार अनुगमनको क्रममा उहाँले यस्तो बताउनु भएको हो । प्रहरी उपरीक्षक पन्तले घटनाको रहस्य चाडै बाहिर आउने विश्वास व्यक्त गर्नुभयो ।
पोखरिया नगरपालिकाका बालक अब्दुल्लाहको छ महिना अघि हत्या भएको थियो । यस हत्या प्रकरण सम्बन्धमा गहन छानबिन भइरहेकाले सत्यतथ्य चाडै बाहिर आउने उहाँले जानकारी दिनुभयो । पन्तले आफनै कार्यकालमा घटनाको अनुसन्धान पुरा हुने र दोषीले सजाय पाउने आश्वासन दिनुभयो ।
प्रहरी उपरीक्षकसँगै अनुगमनमा पोखरिया नगर प्रमुख दिप नरायण रौनियार, घटनाको अनुसंधान अधिकृत इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र सिंह, पिडित परिवार लगायत स्थानिय जनप्रतिनिधिको टोली घटनास्थल पुगेको हो ।
गत असोज १९ गते घरबाट हराएका पोखरीया नगरपालिका वडा नम्बर ५ निवासी शिक्षक गन्नी अन्सारीका १५ वर्षिय छोरा अब्दुल्लाह असोज २१ गते घर नजिकै रहेको पोखरीबाट मृत अवस्थामा फेला परेका थिए । शवको प्रकृति तथा घटनाको केही महिना पश्चात पोखरीको डिलबाट बरामद लत्ताकपडाको आधारमा घटना सुनयोजित भएको देखिएको प्रहरीको भनाई छ ।
यस्तै, पोष्टमार्टम रिपोर्ट र ल्याब टेस्टको आधारमा घटनामा बालकको हत्या नै भएको पुष्टि हुदाँहुदैं पनि प्रहरीले भने हालसम्म दोषी पता लगाउन सकेको छैन ।

