बीरगन्ज, २९ बैशाख – प्रहरीको दुर्व्यवहार र दमनका विरुद्ध पर्साका पत्रकारहरुले धर्ना शुरु गरेका छन् । नेपाल पत्रकार महासंघको आवहनमा पत्रकारहरुले आज बिहान ८ बजे बीरगन्जको घण्टाघरमा भेला भई धर्ना शुरु गरेका हुन् ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले घटनाको निष्पक्ष छानविन गरी दोषी प्रहरीलाई कारवाही गरिएन भने प्रहरी मेरो साथी जस्ता नारा खोक्रो सावित हुने बताउनुभयो ।
राजा ज्ञानेन्द्रलाई फ्याँक्नेदेखि लिएर प्रेसलाई देखिनस्कने विभिन्न सन्चारमन्त्रीलाई समेत घुँडा टेकाउने प्रेसको हैसियतलाई नबुझेको पर्सा प्रहरीको बेलैमा चेत खुलोस् भन्ने सुझाव अध्यक्ष चौहानले दिनुभयो ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकार तिवारी यादवमाथि दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही नगरिन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो । स्वास्थ्यकर्मी, बैंक कर्मचारी, व्यसायी र सन्चारकर्मीलाई समेत अन्यन्तै निन्दनीय ढंगबाट पर्सा प्रहरीले व्यवहार प्रदर्शन गरिरहेको भन्दै अध्यक्ष बन्जाराले प्रहरीको दुर्व्यवहारको विरोधमा बाध्य भएर पत्रकारहरु बाहिर धर्नामा निस्कनु परेको बताउनुभयो । सन्चारकर्मी मात्र होइन, सम्पूर्ण बीरगन्जेली नागरिक, बुद्धिजीवी, व्यवसायी लगायतका सम्पूर्णलाई पर्सा प्रहरीको सबै खाले ज्यादती विरुद्ध बाहिर आउन अध्यक्ष बन्जारले आवहान गर्नुभयो ।
संवादबाट महासंघ पछि नहट्ने भन्दै पर्सा प्रहरीको हिजो दुर्व्यवहारले मिडियालाई संकुचित बनाउने प्रयासको पुष्टि भएको अध्यक्ष बन्जाराको भनाई छ । माथिल्लो निकायको निर्देशनमा पर्सा प्रहरीले दुव्र्यवहारको बारे एक शब्द पनि नबोलेको भन्दै अध्यक्ष बन्जाराले यस विरुद्ध सबै पत्रकारले भण्डाफोर अभियान सन्चालन गर्नु पर्ने आवहान गर्नुभयो । पर्सा प्रहरीका हरेक नकरात्मक कुराहरुलाई बाहिर उजागर गर्ने गरी काम गर्न सम्पूर्ण पत्रकारहरुसँग अध्यक्ष बन्जाराले आग्रह गर्नुभयो । आन्दोलनको शुरुवात भइसकेको हुनाले एकताबद्ध भई पर्सा प्रहरीको विरुद्धको चरणबद्ध आन्दोलनमा होमिन सबैलाई आग्रह गर्नुभयो ।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठनका अध्यक्ष निरज पिटाकोटे लगायतका पत्रकारको उपस्थिति रहेको थियो ।
यसअघि, बीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम र नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादवलाई हिजो प्रहरीले पक्राउ गरेर हातपात गरेको थियो । बीरगन्जको लिंकरोडमा रहेको एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको बहानामा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर पत्रकार यादवमाथि हातपात समेत गरेका थिए ।
महासंघ, पर्सा लगायतका पत्रकार आबद्ध विभिन्न संघसंस्थाको चर्को दबाबपछि ५ घण्टा पश्चात रिहा गरिएको पत्रकार तिवारीको खोसिएको मोबाइल भने प्रहरीले अझैसम्म फिर्ता गरेको छैन ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहार र दमनको विरोधमा प्रहरीको समाचार समेत बहिष्कार गर्न सम्पूर्ण सन्चारकर्मीलाई आवहान गरेको छ ।

