टेस्ट र ट्रेसिङ्ग बन्द छ, निषेधाज्ञा मात्र लगाएर कोभिडको जोखिम कम हुने हो ?

spot_img

बीरगन्ज, ५ जेठ – पर्सामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा आज सकिदैंछ । गत मंगलबार एकैदिन पर्सामा ५७ जनामा संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समितिले सोही दिन राति ८ बजेदेखि लागु हुने गरी आजसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो । तर त्यसयता तीब्र रुपमा गरिनुपर्ने स्वाब संकलन नगर्दा यहाँका सर्वसाधारण त्रास झनै थपिएको छ र दैनिकी असहज भएको छ । साथै, निषेधाज्ञामा सुरक्षाकर्मीको दुर्व्यवहारबाट सर्वसाधारणले सास्ती पनि पाएका छन् । निषेधाज्ञाको नाममा स्वस्थ्यकर्मी, बच्चाको लागि दुध किन्न निस्किएका र औषधी उपचारका लागि निस्केका सर्वसाधारणले समेत सुरक्षाकर्मीको डण्डा खानु परेको छ ।

बीरगन्जमा केही दिन पहिला संक्रमण पुष्टि भएका एकै परिवारका १७ जनाको सम्पर्कमा आएका ६० जनाको स्वाब संकलन गरिएको छैन । त्यसयता फेला परेका अन्य संक्रमितको सम्पर्कका आएको व्यक्तिहरुको पनि उस्तै अवस्था छ । उनीहरुको गतिविधिमा पनि निगरानी छैन । एकै दिन १७ संक्रमित फेला परेपछि सिल गरिएको वडाहरुमा निषेधाज्ञा लागु भएपछि सो वडाहरुमा न त सुरक्षाकर्मी गएका छन्, न त संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब पनि लिइएको छ ।
उच्च जोखिममा रहेको बीरगन्जमा भीटीएम किटको अभावले स्वाब संकलन प्रभावित बनेको छ । स्वाब संकलनका लागि वीरगन्जमा दुईदेखि तीन हजार भीटीएम आवश्यक छ । करिब एक हप्ता अगाडि नै किट पठाइदिन माग गरेपनि हालसम्म नआएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए ।

एकातिर निषेधाज्ञा लागु गरेको स्वाब संकलन गरी परिक्षण तीव्र नपार्ने र अर्कोतिर सर्वसाधारणले सास्ती पाइरहँदा आज सकिने निषेधाज्ञाको विकल्प खोज्नुपर्ने पर्साका सर्वसाधारणको माग छ । “निषेधाज्ञा मात्र लगाएर कोभिडको जोखिम कम हुने हो ?” सर्वसाधारणको प्रश्न छ ।

“चेक गर्न किट छैन, गरिबको लागि राहत छैन । दुध, औषधि तथा अतिआवश्यक सामान किन्न व्यवस्था छैन । केवल निषेधाज्ञा जारी गरि जनता मार्ने काम भईरहेको छ” यो एक सर्वसाधारणको गुनासो हो ।

लकडाउन, कर्फ्यु साध्य होइन, साधन मात्र रहेको सर्वसाधारणको तर्क छ । यहि तरिकाले लकडाउन मात्र गरिरहने र अरु आवस्यक कुनै गतिविधि नगर्ने हो भने, अरु ५ वर्ष लकडाउन नै गरिरहे पनि कोरोना नसिद्दिने तर भोकमरीले चाहिँ समाज अस्तव्यस्त हुने सर्वसाधारण बताउँछन् । तीव्र परिक्षण गर्ने र संक्रमितलाई अलग्गै उनीहरुको खानपिनमा उचित ध्यानु दिनुपर्ने तर्क सर्वसाधारणको छ । साथै, सामाजिक दुरी कायम गरी कार्यहरु क्रमिक रुपमा गर्दै जानुपर्ने उनीहरु बताउँछन् । तर, यो सब गर्न बीरगन्जका सरकारी निकाय तथा नागरिक समाज आफूलाई तयार पार्न सक्छन् त?? भन्ने प्रश्न पनि छ ।
प्रायः सबै पर्सेली जनताको एउटै तर्क छ – कति दिन निषेधाज्ञा जारी राख्ने ? स्थानीय प्रशासनले निषेधाज्ञाको धेरै कठिन निर्णय लिए पनि स्वाब परिक्षण लगायतको कार्य नगरिएको गुनासो छ ।

निषेधाज्ञा मात्र लम्बिए आधारभूत जीवनयापन पनि अति कष्टपूर्ण हुने भन्दै यहाँका जनता चिन्तित भएका छन् । लकडाउन जारी रहे पनि आवश्यक सेवा सुचारु गर्न, कृषि कार्य सम्पादन गर्न, अति आवश्यक खाद्यान्न, औषधि आदि खरिद गर्न समय तोकेर मास्क र भौतिक दूरीका साथ निस्कने व्यवस्था स्थानीय प्रशासनले मिलाउनु पर्ने माग उठेको छ । विकल्पको रुपमा साँझ ७ बजे देखि बिहान ७ बजेसम्म निषेधाज्ञा जारी गर्दा ठीकै हुने सुझाव सर्वसाधारणको छ ।

अर्को विकल्पको रुपमा निषेधाज्ञा जारी नै राखे पनि सर्वसाधारणलाई अत्यावश्यक सामानको अभाव हुन नदिन कस्तो व्यवस्थापन गर्न सकिन्छ, त्यसका लागि प्रशासनले योजना बनाउनु पर्ने सुझाव पनि सर्वसाधारणले दिएका छन् । घर–घरमै सामान उपलब्ध गराउने किसिमले स्थानीय प्रशासनले योजना बनाउन सक्नुपर्ने सर्वसाधारणले बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय