बीरगन्ज, ३१ जेठ – बीरगन्ज महानगरपालिकाको वडा नं. १४ को उत्तर–पूर्वतिर पुरानो बाईपास र बाराको कलैया जाने बाटोको बीचमा पर्छ – पिपरामठ । मठको सामुन्ने छ, पोखरी । मठको दक्षिणतिर छन्, दुई विद्यालय । एक नृसिंह मावि र अर्को संस्कृत विद्यालय । मठदेखि केही पर कलैया जाने रोड पारि छ, घनाबस्ती भएको लक्ष्मणवा टोल । त्यस्तै, बीरगन्ज वडा नं. १४ को घनाबस्तीको अर्को टोल पिपरा छ, मठ पछाडि बाइपास रोडको पारि ।
मठ खुल्ला ठाउँमा रहेको छ । तसर्थ, पिपरा र लक्ष्मणवा टोलका मानिस साँझ, बिहान र दिउँसो पनि टहल्दै त्यहाँ पुग्छन् । कोही अहिले गर्मी छल्न त्यहाँ पुग्छन् त कोही साँझ र बिहान मर्निङ्ग र इभिनिङ्ग वाक गर्दै त्यहाँ पुग्छन् । खुल्ला ठाउँ र बजारको हल्लीखल्ली भन्दा बाहिर रहेकाले एकैछिन भएपनि शान्त वातावरणमा बस्न मन पराउने जो कोही पनि त्यहाँ पुग्ने गरेका छन् ।
तर त्यहाँ अहिले पहिलेजस्तो छैन । “कालिका” कन्सट्रक्सनले अहिले मठको सामुन्ने नै अस्थायी कार्यालय स्थापना गरेको छ । कार्यालयका साथसाथै चिम्नी पनि स्थापना गरिएको छ भने पिपरामठको जग्गालाई अहिले अतिक्रमण गरी गिट्टी, बालुवा जस्ता निर्माण सामाग्रीको भण्डारण स्थल समेत बनाइएको छ । निर्माण सामाग्रीको भण्डारण स्थलमा अहिले गिट्टी र बालुवाका चुलिएका पहाड देखिन्छन् । गिट्टी र बालुवाका पहाडले साना–साना मन्दिर पुरिएका छन् ।
बीरगन्ज–१५ पिपरामठमा सञ्चालित कालिकाको स्थापना गरिएको मिक्सचरको चिम्नीबाट पिच डढेको कालो धुवाँको मुस्लो बिहानदेखि बेलुकीसम्म निरन्तर निस्किरहेको हुन्छ । जसले गर्दा नजिकैका लक्ष्मणवा र पिपरा जस्ता ठूला बस्ती नै निस्सासिने गर्छन् । कालिकाको चिम्नीबाट दिनभरि निस्कने धुवाँको मुस्लोले वातावरण त प्रदुषित बनाएकै छ, साथै मानिसको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पारेको छ ।
कालिकाको चिम्नीभन्दा सय मिटर पश्चिममा पिपरामठ छ । चिम्नीबाट निस्कनै धुवाँको मुस्लोले पिपरामठ कालो बादलले ढाकिएझै देखिन्छ । दक्षिण पूर्वबाट हावा चलेका बेला कालो धुवाँले मठ ढाकिन्छ । पिपरामठका मठाधिसले भने, ‘हावा चलेका बेला मठ कालो धुवाँले भरिएपछि सास लिन मुस्किल हुन्छ ।’

त्यहाँको अवस्था बुझ्न यो पंक्तिकार पनि पिपरामठ नै पुगेको थियो । त्यहाँ पुग्दा कालिकाको नजिकैको चिम्नीबाट धुवाँको मुस्लो निस्किरहेको थियो । पूर्वको हावा चलिरहेको थियो, धुवाँको मुस्लोले पिपरामठ पूरै ढाकिएको थियो । मठमा ५÷६ जना वृद्ध गर्मी छल्न बसिरहेका थिए । मठाधिससँग कुरा गर्न मठभित्र पस्दा, धुवाँ नै धुवाँले भित्र कालो कुहिरो लागेको थियो, सास फेर्नै गाह्रो भयो, एक/दुई मिनेट कुरा गरेर बाहिर निस्के, बाहिर एक/दुई थान तस्बीर खिचेर फर्किए ।
अवस्था यस्तो छ कि पुजापाठका लागि बिहान र बेलुका मठमा पुग्ने पिपरा र लक्ष्मणवाका स्थानीय भक्तालु अचेल जादैंनन्, कारण हो–कालिकाको चिम्नीबाट निस्कने कालो धुवाँले त्यहाँ पुग्ने जो कोहीलाई पनि सास फेर्न गाह्रो हुन्छ ।

पूर्वी हावा चल्दा पिपराका स्थानीयलाई घरमा बसिनसक्नु हुन्छ भने उत्तर पश्चिमको हावा चल्दा लक्ष्मणवाका स्थानीयलाई सास फेर्न हम्मेहम्मे हुन्छ । । ‘चिम्नीको धुवाँ गाउँभरि फैलिन्छ, बिहान उठ्नेबित्तिकै पिचको गन्ध भएको कालो धुवाँ मिसिएको हावामा सास फेर्नुपर्छ, कालो नहुने कुनै पनि ठाउँ हुँदैन,’ लक्ष्मणवाका बिसन्जन साहले सुनाए ।
दुई बस्तीको बीचमा कालिकालाई कार्यालय राख्न दिइएपछि स्थानीयहरु बिचल्लीमा परेका छन् । ‘घर छाडेर अन्यत्र जाने कुरा भएन । तर, यहाँ बस्न गाह्रो भएको छ,’ पिपराका राहुल साहले भने ।

“लकडाउन खुलेपछि त झन् विद्यालय खुल्छन्, साना–साना बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पर्छ” नृसिंह माविका शिक्षक शम्भु साहले चिन्ता व्यक्त गरे । “हावाहुरीको बेला छ, पहाड बनाएर बालुवा थुपारिएको छ, उडेर विद्यार्थी कै आँखामा पर्न सक्छ, कालिकाको अस्थायी कार्यालय यहाँबाट तुरुन्छ हटाइनु पर्छ” उनले भने ।

यिनै संकटको आकलन गर्दै स्थानीयले सुरुमै दुई बस्ती, विद्यालय र मठ नजिकै कालिकाको सो कार्यालय नराख्न आवाज उठाएका थिए । तर, उनीहरूको हारगुहार कसैले नसुनेको एक स्थानीयले बताए । उनले भने, ‘टोलका अगुवा र जनप्रतिनिधि आर्थिक प्रलोभनमा परे, हाम्रो निवेदनलाई कुनै महत्व दिएनन ।’
कालिकाको सो अस्थायी कार्यालय त्यहाँ लगभग दुई वर्षदेखि छ । “त्यतिबेला दुई वडाका अध्यक्ष, बीरगन्ज महानगरका प्रतिनिधि र कालिकाका प्रतिनिधि बीच मौखिक सहमति भएर कार्यालय खोल्न दिइएको हो” वडा नं. १५ का कार्यवहाक अध्यक्ष छोटेलाल प्रसादले भने “सहमति अनुसार पर्खाल बनाएर, आवश्यक सर्तकर्ता अपनाएर काम गर्ने गरी काम गर्न भनियो तर कालिकाले सहमति अनुसार केही गरेन ।”
“लकडाउन भएपछि दिनभरि मानिसहरु घरमै बस्नु प¥यो, धुवाँले वाक्कदिक्क बनाएपछि, कालिकाको लापरवाही मानिसको नजरमा चढ्यो” वडा नं. १५ का कार्यवहाक अध्यक्ष छोटेलालले भने “एक हप्ता अघि सरोकारवालाबीच बैठक बसेर लिखित सहमति भएको छ, कालिकालाई अब केवल दुई महिनाको समय दिइएको छ ।”
उनले भने “जे जति काम छ, त्यसका लागि दुई महिनाको समय दिइएको छ, दुई महिनापछि कालिकाको अस्थायी कार्यालय त्यहाँबाट हटाइन्छ ।”
दुई वडाका अध्यक्ष, बीरगन्ज महानगरका प्रतिनिधि, कालिकाका प्रतिनिधि र स्थानीय बीच बसेको बैठकमा भएको सहमति वकिल नै बोलाएर लिखित गराइएको उनले सुनाए । यद्यपि, दुई महिनासम्म पनि तल चार फिट र माथि ६ मिट गरी १० फिटको पर्खाल बनाएर काम गर्न भनिएको अध्यक्ष छोटेलालले बताए ।

