बीरगन्ज, ४ असार – हरेक वर्ष वर्षायाम शुरु भएसँगै बीरगन्जको डुबानको समस्याबारे चर्चा हुन थाल्छ । यसका कारणबारे सबैले आ–आफ्नै तवरले अड्कलबाजी काट्ने गर्छन् । अण्डर ग्राउण्ड नाला निर्माणपछि शहरी क्षेत्रमा जम्मा भएको पानीको सहज निकास भएसँगै डुबानको समस्या हट्ने भनिएपनि त्यस्तो नदेखिएको भन्दै कतिपयले अण्डर ग्राउण्ड नाला निर्माणको संरचनागत पक्षमाथि नै प्रश्न उठाउने गरेका छन् । तर बीरगन्जमा अझैपनि डुबानको समस्या देखिने मुख्य कारणमा सिर्सिया नदीको अतिक्रमण रहेको क्षेत्रीय शहरी विकास आयोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठको ठहर छ । यसैगरी, निर्माण भएको अण्डर ग्राउण्ड नालामा सर्वसाधारणले नकुहिने ठोस फोहोर फ्याँक्नाले पनि नाला जाम हुँदा डुबानको समस्या उत्पन्न हुने गरेको उनले बताए । यस्तै, नदीमा थुप्रिदैं गएको पदार्थले गर्दा पनि नदीको सतह बढ्नाले पनि डुबानको समस्य निम्तिने गरेको पाइएको छ ।
सिर्सिया नदीको अतिक्रमणले गर्दा वर्षायाममा नदीको पानी बस्तीमा पस्दा डुबाने हुने गरेको एक तथ्यले देखाएको छ । पटक–पटक सिर्सिया नदीको अतिक्रमण भएको सो तथ्यले प्रष्ट पारेको छ । गुगल म्यापको स्याटेल्याट नक्साको तथ्यांक अनुसार सन् २००५ मा सिर्सिया नदीको चौडाई १५० फिट देखिएको थियो । तर अहिले आएर गुगल म्यापले सो नदीको चौडाई ५० फिट मात्र देखाएको छ । यसै तथ्यांक अनुसार सिर्सिया नदीको दाँया र बाँया दुवैतिर अतिक्रमण भएको देखिन्छ । पटक–पटक गरेर दुवैतर्फ अतिक्रमण गरी नदी चौडाई १०० फिट घटेर अहिले (सन् २०१९) ५० फिटमा खुम्चिएको सो तथ्यांकले देखाएको छ । बढ्दो शहरीकरणसँगै हाल कतिपयले नदीको किनाराको ऐलानी जग्गा नै ओगटेर बसेका छन् भने कतिपयले त ऐलानी जग्गालाई नम्बरी कायम गराई लालपुर्जा लिएर नदी अतिक्रमण गरी पक्की घर नै ठड्याएका छन् । नदी किनाराका ऐलानी जग्गा कसरी नम्बरी कायम भयो त ? गम्भीर प्रश्न खडा भएको छ । २००५ देखि २०१९ सम्मको अतिक्रमणको श्रृखंला हेर्ने हो भने पटक–पटक नदी अतिक्रमित भएको छ । जिल्लाका मालपोत र नापी कार्यालय नै नदी अतिक्रमणको मतियार बनेका छन् । यदि यी सरोकारवाला निकायको संलग्नता नहुँदो हो त, नदी छेऊका ऐलानी जग्गा कसरी कायम भए त ? खोजीनीति हुन जरुरी छ । होइन भने, यो श्रृखंला चलिरहने हो भने भविष्यमा सिर्सिया नदी कुलो बन्न बेर छैन ।
नदी अतिक्रमण कै कारणले गर्दा दुई दिन मात्र पनि पानी पर्दा सिर्सिया नदीमा पानी बहाव उच्च देखिन पुगेको क्षेत्रीय शहरी विकास आयोजनाका व्यवस्थापक श्रेष्ठले बताए । “वर्षायामको पानी निकास हुने भनेको नदी मै हो, त्यसैकारण दुई दिन पानी पर्ने बित्तिकै नदीमा पानी बहाव उच्च देखिने गरेको छ” उनले भने । प्राकृतिक विपद्लाई कसैले पनि रोक्न नसक्ने भन्दै उनले भने “नदी खुम्चिएको छ, वर्षायामको बेला दुई/चार दिन भन्दा बढी पानी पर्ने बित्तिकै, बहाव बढेर बस्तीमा नदी पस्छ, अनि बस्ती डुबानमा पर्छ ।” तर बीरगन्ज डुबानमा पर्ने बित्तिकै अण्डर ग्राउण्ड नालाको संरचनागत पक्षमाथि नै प्रश्न उठाउदैं बदमान गराउने गरिएको व्यवस्थापक श्रेष्ठले बताए ।

पहिले वर्षायामको पानी च्यानलाइज नहुने गरेकोमा अहिले भने अण्डर ग्राउण्ड नालाबाट त्यो पानी च्यानलाइज गरेर सिर्सिया नदीमा निकास गरिएको उनले दाबी गरे । “संरचनागत रुपले हेर्ने हो भने पनि अण्डर ग्राउण्ड नालाको चौडाई ८ फिट र उचाई ६ फिट रहेको छ, तर नदी अतिक्रमणले गर्दा सानो पानी पर्दा पनि नदीमा पानी बहाव ६ फिट भन्दा माथिसम्म देखिन्छ” श्रेष्ठले प्रष्ट पार्दै भने “नालाको उचाईभन्दा पानीको उचाई बढी हुन पुग्छ अनि उल्टै नदीको पानी नाला हुदैं बस्तीमा पर्छ र बीरगन्ज डुबानमा पर्छ ।”
यस्तै, सर्वसाधारणले जथाभावी रुपमा नकुहिने सोलिड फोहोर बस्तु नालामा फ्याँकेका कारणले गर्दा नाला जाम भई डुबानको समस्या निम्तिने गरेको श्रेष्ठ बताउँछन् । “नगरका विभिन्न ठाउँमा नाला जामको समस्या भएपछि नाला सफा गर्ने क्रममा विभिन्न नकुहिने प्रकृति सोलिड फोहोरहरु भेटियो” उनले भने “जुत्ता, प्लाष्टिकजन्य फोहोर, खसीको टाउकोसम्म भेटियो ।” “यस्तै प्रकृतिका फोहोरहरु नालाभित्र नजाओस् भने जाली पनि राखेका छौं तर जानी नजानी त्यो जाली पनि हटाइएको छ, यसले गर्दा नाला जाम भई ओभर फ्लो हुन्छ, अनि दोष चाहिं हामीलाई लाग्छ” उनको भनाई छ । यद्यपि, बीरगन्ज महानगरको बहुप्रतिक्षित आयोजना “ल्याण्डफिल साईट”को सन्चालन पछि भने यस्तो समस्या केही हदसम्म घटेर जाने उनले बताए । “कुहिने र नकुहिने प्रकृतिका फोहोरलाई अलग–अलग रुपमा “ल्याण्डफिल साईट”मा व्यवस्थापन गर्ने गरी संकलन गरिनेछ” उनले भने “त्यसैले गर्दा अहिले महानगरले हरेकको घरमा दुई वटा डस्टबिन बाँडिरहेको छ, अब सर्वसाधारणले पनि कुहिने र नकुहिने फोहोरलाई अलन–अलग डस्ट बिनमा जम्मा गर्नुपर्छ ।”

बीरगन्जको डुबानको समस्या समाधानका लागि मुख्य रुपमा सिर्सिया नदी बचाऊ अभियान नै सन्चालन गर्नुपर्ने तर्क विशेषज्ञको तर्क छ । गत वर्ष बीरगन्ज डुबानमा परेपछि विशेषज्ञको टोलीले गरेको अध्ययन अनुसन्धानले यस्तो निष्कर्ष निकालेको व्यवस्थापक श्रेष्ठ बताए । उनले भने “विशेषज्ञको टोली मुख्य रुपमा डुबानको मुख्य तीन कारण दिएका छन्, नदी अतिक्रमण, नदीको सतह बढ्नु र नालामा ठोस फोहोर पदार्थ फालिनु ।” यसर्थ यी तीन कुरालाई ध्यानमा राखेर सिर्सिया नदी बचाऊ अभियान सन्चालन गर्नुपर्ने उनको तर्क छ । बेला–बेलामा नदी बचाऊ अभियान तातिए पनि सेलाएर जाने भएकाले समस्या जस्ताको त्यस्तै रहेको उनको तर्क छ ।

