बीरगन्ज, १४ साउन – बीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार बुधबार साँझ संक्रमण पुष्टि भएका १७ जनामध्ये नारायणी अस्पतालका ४ जना स्वास्थ्यकर्मी रहेका छन् ।
नारायणी अस्पतालका १ जना डाक्टर, २ जना नर्स र १ जना अहेब गरी ४ जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए । त्यस्तै, बीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ३ का १ जना, पर्साकै छिपहरमाई गाउँपालिका २ टिहुकीका १
जना र नारायणी अस्पतालकै संक्रमति कर्मचारीकी १ जना छोरीमा पनि रहेको मेसु उपाध्यायले जानकारी दिए ।
संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ९३ जनालाई घरमै राखिएको छ । बुधबार साँझ १७ जना संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा ३ सय २३ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

