वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४७ जना पर्सा, ३० जना बारा र एक/एक जना मोरङ र काठमाडौंका बासिन्दा हुन् ।
नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ४ सय ४२ जनाको स्वाब परीक्षण गर्दा २४ महिलासहित ६ महिनादेखि ९७ वर्ष उमेर समूहका ७९ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये २१ जना कन्ट्याक्ट ट्रेसिङका क्रममा भेटिएका संक्रमित छन् ।
शनिबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा थप २६ जनामा संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिकामा १२ संक्रमित थपिएका छन् ।
यसै गरी बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडामा २१ जना, जितपुर–सिमरा उपमहानगरपालिकामा २ जना, विश्रामपुर गाउँपालिकामा ३ जना र महागढीमाई नगरपालिकामा चार जनामा कोरोना पुष्टि भएको डा.चौरसियाले जनाए । कलैयामा रहेको एक बैंकका दुई स्टाफमा पनि कोरोना देखिएको छ ।

