spot_img

रौतहटमा फेरि एक साता थपियाे निषेधाज्ञा

spot_img
spot_img

रौतहट, १४ भदौ । रौतहटमा साउन २४ गतेदेखि जारी गरिएको निषेधाज्ञा फेरि एक साताको लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहट भदौ २१ गते राति सम्मका निषेधाज्ञा थप गरेको हो । यसअघि दोस्रोपटक थप गरेको निषेधाज्ञाको समय आजदेखि समाप्त हुँदै थियो ।

जिल्ला स्तरीय कोभिड- १९ संकट व्यवस्थापनको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञाको समयमा बिहान ७ देखि १२ बजेसम्म खाद्यान्न तथा अत्यावश्यक वस्तुहरुका पसल एवं बैंक तथा वित्तीय संस्थाहरु खोल्न पाउने निर्णय भएको जानकारी दिनुभयो ।

संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावनासमेत उच्च रहेको अवस्थालाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि २१ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा थप गरेको उहाँको भनाइ छ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, शव बाहन, खाद्य सामग्री तथा निर्माण सामग्री ढुवानी गर्ने, कुखुराको चल्ला, पशुपन्छीको दाना, पानी, दूध, इन्धनको ट्यांकर, फलफूल तथा तरकारी बोकेका, झण्डावाहक, कूटनीतिक निकायको र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारीसाधनहरु मात्र चल्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सो कार्यालयले निषेधाज्ञा अवधिभर होटल, रेष्टुरेन्ट, ब्यूटी पार्लर, सैलुन, जिमखाना, लगायत दैनिक, अर्ध-साप्ताहिक तथा साप्ताहिक हाट बजार, मठ मन्दिर, मस्जिद पूर्ण रुपमा बन्द हुने जनाएकाे छ । साथै खेल मैदान लगायतका कुनै पनि सार्वजनिक स्थलमा भेला नहुन, भिडभाड नगर्न, सबै प्रकारका सभा, जुलुस लगायत सामुहिक रुपमा मनाइने चाडपर्वहरु भेला जम्मा गरेर नमनाउन पनि निर्देशन जारी गरेको छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको उल्लंघन गर्ने/गराउने वा कार्यान्वयनमा अवरोध गर्ने/गराउने उपर संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आज परेको इस्लाम धर्मावलम्बीहरुको पर्व मोहर्रम (दाहा) सामुहिक रुपमा भेला भई मनाउँदा निषेधाज्ञा आदेशको बर्खिलाप हुन जाने तथा कोरोना भाइरसको जोखिम समेत उच्च हुने भन्दै सो पर्व घरबाहिर भेला भई सामुहिक रुपमा मनाउन नपाउने गरी निषेध गरेको छ । सो कार्यालयले हालको असहज परिस्थितिलाई मध्यनजर गर्दै उक्त पर्व घरभित्र नै मनाउन सबैलाई अनुरोध पनि गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय