“भीडभाड नै गरेर भएपनि तिर कर, छैन कोरोनाको कुनै डर, सिडियो साबको निर्देशको भएन भर”

spot_img

बीरगन्ज, ४ असोज – पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था तथा व्यापार व्यवसाय गर्न दिने निर्णय भएको छ । तर व्यापार व्यवसाय र सेवा प्रवाह गरिरहँदा भने स्वास्थ्य सुरक्षाका निश्चित शर्तहरु पालना गर्न जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

प्रशासनकै निर्णय बमोजिम गत असोज १ गतेबाट व्यापार व्यवसाय खुलेका छन् भने सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था पनि सेवा प्रवाह सूचारु गरेका छन् । जिल्ला अदालतले आगामी असोज ५ गतेबाट सेवा दिने भएको छ भने मालपोत कार्यालय पर्सा आजबाट खुलेको छ ।

यसरी सेवाग्राहीलाई सेवा दिइरहँदा भने सेवा लिने र दिने दुवैको स्वास्थ्यको जोखिमलाई ख्याल गरी सतर्कर्ता अपनाउन र सेवा दिने कार्यालयलाई सोही अनुसारको व्यवस्था गर्न भनिएको छ । जस्तो कि सेवा लिने र दिने दुवै बीच तथा कर्मचारी बीच कम्तीमा दुई मिटरको दुरी कायम गरिनुपर्ने, मास्क अनिवार्य रुपमा लगाउनु पर्ने, प्रवेश विन्दुमा अनिवार्य तापक्रम मापन गर्नुपर्ने, साबुन पानी र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, अनिवार्य लगभग बुक राख्नुपर्ने, शौचालय र हात धुने ठाउँ पटक पटक सफा गर्नुपर्ने, मास्क नलगाएकालाई कार्यालय परिसरमा प्रवेश निषेध गर्नुपर्ने, टोकन प्रणाली लागु पर्ने लगायत नेपाल सरकारले तोकेको सुरक्षा, स्वास्थ्य र अन्य तोकिएको मापदण्ड पालना गर्न सबै सरोकारवालालाई जिल्ला प्रशासन कार्यालय पर्साले निर्देश गरिएको छ । साथै, निर्देश पालन भए नभएको जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्ने पनि गत असोज १ गते जारी गरेको सूचनामा जनाएको थियो ।

तर आईतबार यातायात कार्यालय पुग्दा, स्थिति ठिक विपरीत थियो । न लग बुक राखिएको थियो, न प्रवेश विन्दुमा अनिवार्य तापक्रम मापन गर्ने व्यवस्था, साबुन पानी र स्यानिटाइजरको त कुरै छाडौं, कम्तीमा दुई मिटरको दुरी समेत कायम गराउन सेवा दिने कार्यालयले चासो दिएको पाइएन । सायद, सर्वसाधारणबाट उठाउन कार्यालयका कर्मचारीलाई सरकारले भनेको छ -भीडभाड नै गरेर भएपनि उठाउ कर, छैन कोरोनाको कुनै डर । यातायात कार्यालयले बैंक मार्फत राजश्व बुझ्ने गरेको छ । मान्छेहरु एक माथि अर्को जना चढेर कर तिर्न लाइनमा थिए । कार्यालय नजिकै रहेको ग्लोबल आईएमई बैंकको काउण्टर अगाडि सेवाग्राहीको यस्तो भीड थियो कि सायद कोरोना पनि भीडले थिचिएर मर्छु होला भनेर भाग्यो होला । कतिपय सेवाग्राहीले मास्क पनि लगाएका थिएनन् । सेवाप्रवाह गरिरहदाँ सरकार र जिल्ला प्रशासनले भने बमोजिमको व्यवस्था गरेर सेवाप्रवाह गर्नु यातायात कार्यालयको दायित्व हो भने ग्लोबल आईएमई बैंकको पनि उत्तिकै जिम्मेवाही हो । तर दुवै कार्यालयले निर्देशनको अवज्ञा गर्दै सर्वसाधारणको स्वास्थ्यको जोखिमलाई बेवास्ता गर्दै कर असुलिरहेका छन् ।

यातायातको कार्यालय यो स्थिति हेरेर पर्साका सार्वजनिक सेवा प्रवाह गर्ने अन्य कार्यालयहरुमा कस्तो अवस्था होला, सहजै अनुमान लगाउन सकिन्छ । यस्तो अवस्था देख्दा निर्देश पालना भए नभएको भनेर नियमित अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय पर्साको दाबी पनि झुटो साबित भएको छ । पर्साको कुरा गर्ने हो, संक्रमण छदैं छ, शुन्यमा झरेको होइन । कोरोनाको संक्रमणबाट सर्तक हुदैं जनजीवन सामान्य पार्ने हेतुले प्रशासनले पनि पछिल्लो निर्णय गरेको हो र निर्णय पालना भए नभएका अनुगमन गर्ने भएको थियो । तर प्रशासनले निर्णय मात्र गर्ने र अनुगमन नगर्ने प्रशासनको चालाले पर्साको स्थिति पुन बिग्रन सक्ने बीरगन्जका बुद्धिजीविको भनाई । “निर्णय गर्ने तर अनुगमन नगर्ने हो भने, सिडियो साबको पनि केही भर भएन”, एक स्थानीयले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय