बीरगन्ज, ६ असोज – पहिला/पहिला आन्दोलन र पर्सामा मधेश आन्दोलनको क्रममा सरकारले निषेधाज्ञा जारी गर्दा निषेधाज्ञा जारी भएको क्षेत्रमा कसैलाई पनि भेला हुन दिइदैंनथ्यो । भेला हुनेलाई पानी फोहोराले भगाउने र अटेर गर्नेलाई गोली ठोक्ने सम्मको कारवाही गर्ने चेतावनी हुन्थ्यो । डरले कोही पनि जादैंन थिए, निषेधाज्ञा जारी भएको क्षेत्रमा, त्यो बेला ।
कोरोनाको संक्रमण बढेपछि सरकारले लकडाउन जारी गर्यो । संक्रमणको जोखिम कम भएका क्षेत्रमा निषेधाज्ञाको मोडालिटी अवलम्बन गरियो । आन्दोलनको बेलाको जस्तो कडा निषेधाज्ञा नभएपनि मानिसको भेला तथा मुभमेन्ट कम गर्ने र मानिसको दैनिकी पनि चलोस् भन्ने दृष्टिकोणले जारी निषेधाज्ञा अहिले पनि देशका केही जिल्ला र क्षेत्रमा छ । निषेधाज्ञामा के के गर्न पाइन्छ र के गर्न पाइदैन भनेर प्रशासनले तोकेको छ । तर निषेधाज्ञाको खुकुलो मोडालिटीले सवसाधारणमा केही डर छैन, न त संत्रमित भइएला भन्ने चिन्ता नै छ । पर्सा अहिले पूर्ववत अवस्था फर्किसकेको देखिन्छ ।
पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा छ । तर यहाँको स्थिति हेर्ने हो भने सिनेमा हल पूर्ण रुपमा बन्द छ । विद्यालयमा भौतिक रुपमा उपस्थित भएर हुने शैक्षिक सिकाई प्रक्रिया बन्द छ तर अभिभावक, विद्यार्थी र शिक्षकको आउजाउ जारी छ । यो बाहेक पर्सामा सबै क्षेत्रको अवस्था कोरोना अघि कै जस्तो छ ।
सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा भीड उदेकलाग्दो छ । ती कार्यालयमा सेवाग्राहीको यस्तो भीड देखिन्छ कि सायक कोरोना पनि भीडले थिचिएर मर्छु होला भनेर भाग्छ होला । एकाध बैंकमा केही सावधानी अपनाई सेवाप्रवाह गरिएको भए पनि अन्यमा अवस्था वर्णन गरिएको जस्तै छ । उद्योग र कलकारखाना चलेकै छन् । बजारको अवस्था देख्दा त झन् यस्तो लाग्छ, कोरोनाको संक्रमण सक्किसक्यो । प्रशासनले नो मुभमेन्ट विथ नो मास्क भनेको छ तर बजारमा सर्वसाधारण मास्क बिना पनि देखिन्छन् । सबै सामान्य अवस्था झै भइरहेको छ अनि प्रहरी चाहिं बिहान ११ बजे अघि र दिउँसो ४ बजेपछि कोरोना आउने समय भए झैं गरी व्यापारीलाई धरपकड गर्छ । सायद, डर देखाउन होला तर अब मानिसलाई कोरोनाको डर छैन । किनभने मानिसलाई रोगले भन्दा भोकले पो मरिने हो कि भन्ने चिन्ताले डर हटिसकेको छ ।
गत असोज १ गतेदेखि सवारीसाधान पनि चल्न थालेका छन् । बीरगन्जस्थित बसपार्कमा काम गर्न देशका विभिन्न शहरमा जानेको भीड बिहानदेखि बेलुकासम्म देखिन्छ, पहिलाको जस्तै । सवारीसाधान सन्चालन गर्दा ५० प्रतिशत मात्र यात्रु चढाउनु पर्ने निर्देशन छ । एक पंक्तिको सीटमा एक यात्रु, सीट बाहेक यात्रु राख्न नपाइने, सबै यात्रुले मास्क लगाउनु पर्ने, ढोकामा स्यानिटाइनजको व्यवस्था हुनुपर्ने, चालक सहचालक मास्क, भाइजर र ग्लोब्स लगाउनुपर्ने, सवारीलाई दैनिक विसंक्रमित गराइनुपर्ने भन्ने प्रशासनको निर्देशन त छ तर अवस्था कस्तो छ भन्ने थाहा पाउनु छ भने एकचोटि बसपार्क पुगेपछि थाहा भईहाल्छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले असोज १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्दै केही क्षेत्रका सेवा र कार्य भने अझै बन्द रहने भनेको छ । जस्तो कि मेला, जात्रा, महोत्सव, सभा जुलुस गर्न नपाइने र मानिसहरु भेला जम्मा हुन नपाइने । तर नेशनल मेडिकल कलेजले बाबा होटलमा खोलेको अस्थायी कोरोना अस्पतालको उद्घाटनमा मानिसहरुको भीड थियो । अनि, कार्यक्रममा सिडियो साब र एसपी साहिब नै पुग्नु भएको थियो । त्यहाँ कत्तिको सामाजिक दुरी कायम गरिएको थियो, सामाजिक सन्जालमा एकचोटि फोटो खोजेर हेरौं थाहा हुन्छ ।
पछिल्लो चोटि, असोज ३ गतेका दिन संविधान दिवसमा जनता समाजवादीका नेता तथा कार्यकर्ताहरुले बीरगन्जमा विरोध सभा तथा जुलुश पनि निकाले । सोही दिन नेकपा तथा काँग्रेस निकट विद्यार्थी संगठनहरुले संविधान दिवसको अवसरमा भेला भएर दीपावली पनि गरे । यी सबै कार्य प्रशासनले भने अनुसार गरिनु हुदैंनथ्यो । मन्दिर र मस्जिदमा पनि दर्शनार्थीहरुको आउ जाउ जारी नै छ । शैलुन, व्युटिपार्लर, जिमखाना पनि बीरगन्जमा खुलेकै छन् । प्रशासनले १० वर्ष मुनिका बालबालिका र जेष्ठ नागरिकलाई लगायतलाई घरमै बस्न भनेको छ । तर के बजारमा त्यस्तो देखिन्छ ? बैंकहरुमा गएर हेरौं त, वृद्ध भत्ता लिन वृद्धवृद्धाहरुको भीड देखिन्छ । विद्यालयमा भौतिक रुपमा उपस्थित भएर हुने शैक्षिक सिकाई प्रक्रिया बन्द छ तर अभिभावक, विद्यार्थी र शिक्षकको आउजाउ जारी नै छ ।
पूर्ण रुपमा बन्द छ त, सिनेमा हल । अनि, शिक्षण शैक्षिक संस्थामा भौतिक रुपमा उपस्थित भएर हुने शैक्षिक क्रियाकलाप मात्र ।
हैन, पर्सामा निषेधाज्ञाको यो कस्तो मोडालिटी हो ? के शैक्षिक संस्था र सिनेमा हल मात्रै हुन् कोरोनाका केन्द्र ? सर्वसाधारणहरु बजार, बैंक, विभिन्न कार्यालय तथा संघसंस्थामा दैनिक रुपमा काम गर्न र सेवा लिन गइरहेकै छन् । सवारीसाधन सामान्य अवस्थाको झै गरी आवत जावत गरिरहेकै छन् । अनि के सिनेमा हलमा सिनेमा पुग्दा चाहिं कोरोनाको संक्रमण हुने हो र ? विद्यार्थीका तिनै अभिभावक कामको सिलसिलमा होस् या किनमेल गर्न होस् अथवा विभिन्न कार्यालयहरुबाट सेवा दिन र लिन बाहिर निस्किएर साँझ घर पुग्दा विद्यार्थीमा कोरोना सर्दैन ? विद्यार्थी विद्यालयमा आएर पढाई गर्दा चाहिं कोरोना सर्ने हो ?
यस्तो अवस्था भईसकेपछि विद्यालयमा पनि अब भौतिक रुपमा पढाई शुरु गर्न दिनुपर्ने प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको भनाई छ । अन्य ठाउँमा पनि विद्यालय खुलेको र तथ्यांकले यहाँ संक्रमणको दर पनि घटेको देखाएकाले विद्यालय भौतिक रुपमै सन्चालन गर्न दिइनु पर्ने तर्क साहको छ ।
उनले भने, “हाम्रो मेयर साबसँग कुरा भएको छ, उहाँ सकरात्मक हुनुहुन्छ, कस्तो मोडालिटीमा विद्यालय सन्चालन गर्न सकिन्छ, उहाँले सो तयार गर्न भन्नु भएको छ ।” तयारी भइरहेकाले चाडैं नै मोडालिटी सम्बन्धमा मेयर साबसँग कुरा गर्ने अध्यक्ष डा. साहले बताए । प्रस्तावित मोडालिटीसहित भौतिक रुपमा विद्यालय सन्चालन गर्ने अनुमति लिने सम्बन्धमा संकट व्यवस्थापन केन्द्र आग्रह गर्नेबारे मेयर विजय कुमार सरावगीले आश्वासन दिएको डा. साहले जानकारी दिए ।
अभिभावक संघ पर्साका अध्यक्ष अमर बहादुर गौतमले सरकारले भने वैकल्पिक शिक्षण प्रक्रियाबाट कुनै उपलब्धि नहुने भन्दै भौतिक रुपमा अब शैक्षिक संस्थामा पढाई शुरु गर्नुगर्ने धारण राखे । शैक्षिक संस्थालाई स्यानिटाइज गरेर सिफ्ट बनाएर सामाजिक दुरी कायम गरी पढाई शुरु गर्ने गरी तयारी गर्नुपर्ने गौतमको तर्क छ । उनले भने, “दिनभर विभिन्न ठाउँमा पुगेर हामी घर पुगेका हुन्छौं, कोरोना सर्ने भए सरिहाल्छ, त्यसकारण अब कोरोना सँगसँगै अघि बढ्नुको विकल्प छैन ।”
विद्यालय खोले पनि अभिभावकले विद्यार्थी पठाउँछन् त ? भन्ने प्रश्नमा गौतमले भने, “विकल्प नै छैन, सबैले पठाउँछन्, नपठाउनेले पनि विस्तारै बाध्य भएर पठाउँछन् ।”
यता, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने नेपाल सरकारले निर्णय बमोजिम निषेधाधा जारी भएको बताए । निषेधाज्ञा भएपनि अलि धेरै मुभमेन्ट बढेको स्वीकार गर्दै यसलाई न्युन गर्न अनुगमनलाई तिव्र पारिने प्रजिअ तामाङले बताए । लिभङ विभ कोरोना नीति अनुरुप पर्सामा निषेधाज्ञा जारी गरिएको भन्दै हाल पनि प्रतिबन्ध लगाएका विद्यालय र सिनेमा हल लगायतका सेवा र क्षेत्र सम्बन्धमा भने नेपाल सरकारै निर्णय नआईकन केही गर्न प्रजिअ तामाङले जानकारी दिए ।
तर बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले भने विद्यालय खोल्ने सम्बन्धमा चाडैं निर्णय हुने बताए । उनले भने, “कस्ता मोडालिटीमा विद्यालय खोल्न सकिन्छ, हामी तयारी गरिरहेका छौं, शिक्षा समितिको बैठक बसेर निर्णय गरी संकट व्यवस्थान केन्द्रलाई जानकारी गराएर विद्यालय खोल्छौं ।”
“अब विद्यालय खोल्नुको विकल्प नरहेको मेयर सरावगीको तर्क छ । पहाडतिर विद्यालयहरु खुल्न थालिसकें, बाराकै पनि एक स्थानीय तहले निर्णय गरिसकेको छ, विद्यार्थीको पढाई अब कति दिन बिगार्ने ?” उनले भने । तर केन्द्रको सीसीएमसी प्रतिबन्ध लगाएका सेवा र क्षेत्रबारे त अहिले नै केही गर्न सकिदैंन भन्ने सिडियो साबको तर्क छ नि ? भन्ने प्रश्नमा मेयर सरावगीले भने “हैन, त्यो गलत कुरा हो, स्थानीय तहले आफ्नो निर्णय गर्न सक्छ, हामी चाडैं नै निर्णय गरेर विद्यालय खोल्छौ ।”
यद्यपि, सिनेमा हलमा भने धरै मानिसको भीड जम्मा हुने भएकाले त्यसबारे भने सीसीएमसीको निर्णय अनुसार अघि बढ्ने उनले बताए ।

