मधेसी चेलीको आवाज : मेरो मधेसी समाज

spot_img

आखिर महिलालाई ‘महिला’ र पुरुषलाई ‘पुरुष’ भनेर सम्बोधन नगरी पुरुषलाई “महिला” र महिलालाई “पुरुष” भनेर पक्कै पनि सकिन्न । तर यो महिला भन्ने शब्द आजको २१ औँ शताब्दीसम्म पनि आईपुग्दा महिला भनेको त पुरुष भन्दा तल्लो वर्ग, पुरुषमाथि निर्भर रहने, असक्षम र कमजोर वर्गको मान्यता राख्ने समाजमा मलाई महिला भनेर सम्बोधन गर्दा अथवा मैले स्वयं म महिला हुँ भनेर महसुस हुँदा, महिला त पुरुष भन्दा सबै क्षेत्रमा कमजोर छन् भनी महिला शब्दबाट नै मलाई घृणा लाग्छ । त्यसैले, यो महिला भन्ने शब्द नै हटाईदिए राम्रो हुन्थ्यो होला कि !

उल्लेखित प्रसंग मेरो मधेसी समाजको हो तर म महिला भएर नै महिलाको पहिचान लुकाउन खोजेको होइन कि मैले यसरी सोचेकोमा मेरो कुनै गल्ती छैन जस्तो मलाई लाग्छ । यो त विगतका समयकालदेखि नै चलिआएको मधेसी समाजको रितिरिवाज, परम्परा, चालचलन एवं सामाजिक मुल्यमान्यताले महिलालाई दिएको दर्जा र महिलाको अवस्थाले मलाई यसरी सोच्न बाध्य पारेको छ ।

बर्षौं बितिसक्यो यो कुरा सुन्दासुन्दै कि महिला र पुरुष समान हुन्, एक बिना अर्कोको अस्तित्व सम्भव छैन् भनेर । यहाँ सम्म कि मेरो मधेसी समाजमा यस्ता नारा लगाउने र यस्ता थुप्रै समानताको अवधारणालाई कार्यान्वयनमा ल्याउन खोज्नेहरुको कमी छैन । तर भनिन्छ नि, व्यक्तिलाई जतिसुकै धर्म र सत्यको राम्रो प्रवचन दिए पनि व्यक्ति स्वयं जबसम्म आफ्नो विचार र चरित्रलाई सकारात्मकता तिर बदल्न चाँहदैन तबसम्म उसले समाजमा धर्म र सत्यलाई विस्तार गर्न कदापि सक्दैन । ठिक त्यस्तै, हाम्रा मधेसी समाजका अगुवा एवं जातीय विभेद र धनी गरिबको फराकिलो खाडलमा बस्न रुचाउनेले जबसम्म आफ्नो भित्री आत्मा देखि नै आफुमा सकारात्मक विचार लयाउन चाँहदैनन्, तबसम्म मेरो मधेशको अवस्था सुध्रिन सक्ने छैन । त्यसैले, महिला र पुरुष बराबर हुन् भन्ने कुरा धेरै सुनिए तर मलाई लाग्छ यो कुरा अहिले सम्म भनिरहनु व्यर्थ हो किनभने यो बराबरीको कुरा प्रत्येक व्यक्तिलाई थाहा भईसकेको छ र अबको समय भनाईमा मात्र सिमित रहने होईन कि सबैले आ आफुले हृदय गमन गरी पूर्ण रुपमा व्यवहारमा उतार्ने बेला हो ।

महिला र पुरुषको शारिरीक बनोट फरक भएकोले जरुरी छैन उनीहरुको आवश्यक्ता र चाहना पनि फरक हुनुपर्छ तर समय र परिस्थिति अनुसार यो कुरामा फेरबदल हुनसक्छ । यसको मतलब यो होइन कि एकलाई बढी र अर्कोलाई कमको दृष्टिले हेरिनुपर्छ । उपयुक्त त यो हुन्छ कि समय र परिस्थितिसँगै दुवैको आवश्यक्ता र चाहनालाई ख्याल गरी समताको माधयमबाट समानता कायम गर्नु । यसको तात्पर्य पुरुष झैं महिलालाई पनि आत्मनिर्भर बन्न र आफ्नो जिवनको लक्ष्य आफै निर्धारण गर्न सक्ने अधिकार महिला स्वयंलाई दिनु हो ।

म भन्छु छोरी जन्मिने बित्तिकै किन डराउँछौ, मेरो मधेश ? तिमी आफ्नो सोचलाई त बद्लेर हेर, तिम्रो समस्या आफै समाधान हुन्छ तर तिम्रो त्यो छोरी बिग्रिने सोच, छोरी मान्छेलाई सधैं अरुको सहारा चाहिन्छ, छोरीलाई अरुको भरमा जिवन बिताउनुपर्ने हुन्छ भन्ने रुढिवादी सोचलाई बदल्न अरु कोही आउदंैन, यो त तिमी स्वयं आफैले बदल्ने कुरा हो ।
छोरी मान्छेलाई सधै अर्काको अर्थात पुरुषको साथ चाहिन्छ किन कि जिवनको उकालो र ओरालो परिस्थिति र बाटोमा जिवन बिताउन गाह्रो हुन्छ तर तिमीलाई यो कुरा पक्कै पनि थाहा नै होला कि केवल महिलालाई मात्र पुरुषको साथ र सहयोगको आवश्यक्ता पर्दैन । पुरुषलाई पनि महिलाको साथ र सहयोगको खाँचो पर्दछ । दुवैको जिवन एक अर्काको सहारा बिना अधुरो र कठिन हुन्छ ।

त्यसैले, समय र परिस्थिति अनुसार परम्परा, सामाजिक मुल्य मान्यता र सोचलाई परिवर्तन गर, न कि भावी आवश्यक्ता र जिवन जिउने तरिका ।

म भन्दिन कि मेरो मधेशको सबै परमपरा र मुल्य मान्यताहरु गलत छन् तर केही यस्ता परम्परा र सोचहरुले अझ पनि जरा गाडेर बसेका छन्, जसलाई उखेलेर फाल्ने बेला आएको छ ।

मेरो मधेश तिम्रो चेलीले गर्न चाहे धेरै कुरा गर्न सक्थ्यो र गर्न पनि सक्छन्, यहाँ सम्म कि केहीले यही समाजमा अगाडि बढ्न सफल पनि भएका छन् । तर त्यतिले मात्र, तिम्रो मधेशले यो संसारमा छुट्ठै पहिचान बनाउन सक्दैन ।

मैले यो पक्कै पनि भन्न खोजेको होईन कि मेरा मधेसका सबै वर्ग र व्यक्तिहरुले रुढिवादी परम्परा र प्रवृतिलाई अँगालेका छन् तर मेरो मधेसी समाज त जति सुकै पढेलेखेको भए पनि मानसिक रुपमा शिक्षित हुन अझ पनि समय लाग्छ जस्तो मलाई लाग्छ ।

अझ पनि समय लाग्नुको अर्थ अझ बढी मधेसी चेलीहरुलाई आफ्नो इच्छा, आवश्यक्ता र चाहनाको बलिदान गरी बाध्य भएर अर्थ बिनाको जिवन जिउनुपर्ने हुनु हो । जसमा मन भित्रको आत्मा मरिसकेको हुन्छ तर पनि बाँच्नुपर्छ त केवल समाज र समाजको रितिरीवाजको लागि ।

छोरीलाई आफुखुशी उसको जिवन र कर्म निर्धारण गर्ने, छोरी मान्छेलाई हातको खेलौना सम्झने मेरो मधेसी समाज !!!! हामी छोरी मान्छेलाई त्यति पनि बाँधेर नराख जसको कारण एउटा महिला भएर जन्मिने प्रत्येक आत्मालाई अरुको इशारामा चल्नु र सधैं अरु माथि बोझ भएर बाँच्नुपरोस ।

कतिपय हामी जस्ता हजारौं मधेसी चेलीहरु आमाको गर्भमै मारिन्छन् भने केही गरी भाग्यवस गर्भबाट जन्मेर बाँच्ने मौका पाए पनि जिवनभरि समाजको चालचलन र परम्पराको नाममा असत्य, अवास्तविक र अवैज्ञानिक रितिरीवाजको नाममा आँशु पिएर पनि बाध्य भई जिवनलाई व्यतित गर्नुपर्ने अवस्था छ ।

यसरी मधेसी समाजको यस्तो परम्परा र सामाजिक मुल्यमान्तासँग मिल्न जाने त्यस्ता सम्पूर्ण धर्म सम्प्रदायका रितिरिवाजलाई म मधेसी समाज सरहकै दर्जा दिन चाहन्छु ।

हामी मधेसी चेलीहरुको यस्तो अवस्थालाई हाम्रो कमजोरी सम्झने प्रत्येक व्यक्तिले आफु स्वयंलाई मुर्खको संज्ञा दिने प्रयास गर्न नहुन अनुरोध गर्दछु ।

स्मरण होस !, मेरो यो पुरुष प्रधान समाजमा मेरो जिवन, इज्जत र सम्मानको रक्षा तिमीले गरिदेउ भनी गुहार्न खोजेको पनि छैन्, मेरो मधेस !! मैले त तिमीलाई यति मात्र सचेत गर्न खोजेको छु कि तिमीले आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर र मलाई आत्मसम्मानको साथ अर्थपूर्ण जिवन जिउन देऊ ।

मेरो मधेस ! अन्त्यमा, म तिमीसँग एउटा प्रश्न अवश्य पनि गर्न चाहन्छु कि तिमीले मलाई स्वतन्त्रता त दिएका छांै तर विभिन्न सर्तमा राखेर दिएका छांै……….यस्तो किन होला त ?

त्यसैले, हे मेरो मधेसी समाज !!! तिमी आफुलाई युग र आवश्यक्तासँगै समयमै परिवर्तन गरेर त हेर ….!!!!! तिम्रा चेलीहरु पनि एक दिन यो संसारमा आकाशका ताराहरु झैँ चम्किने छन् । धन्यवाद !!!!!!

निशा गुप्ता
सहायक महिला विकास सुपरभाईजर
विश्रामपुर गाउँपालिका, बारा

spot_img

ताजा अपडेट

लोकप्रिय