काठमाडौं । सरकारसँग वार्तामार्फत तीनबुँदे सहमतिपछि सार्वजनिक भएका विप्लव अहिले राजनितिक भेटघाटमा व्यस्त भएका छन् । उनी जेलमा रहेका आफ्ना कार्यकर्ता भेट्नेदेखि अन्य राजनीतिक भेटवार्तामा व्यस्त देखिएका हुन् ।
उनले पछिल्लो दुईदिनमा नख्खु कारागारमा रहेका आफ्नै पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’लाई भेटेका थिए ।
यस्तै उनले नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, सिपी गजुरेल, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतसँग भेट गरेका छन् ।
आजमात्रै विप्लव पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न उनकै निवास पुगेका थिए । भोली (सोमबार) उनी पार्टीनिकट महिला संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्न कपिलवस्तु पुग्नेछन् । कपिलवस्तु उनको गृहनगर समेत हो ।
यसबाहेक उनले उपत्यकामा रहेका नेता–कार्यकर्तासँग भेटघाटलाई तिव्रता दिएका छन् । पूर्वमाओवादी नेता समेत रहेका विप्लवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने–नभेट्ने भने तय भइसकेको छैन । शनिबार मात्रै प्रचण्डले एक कार्यक्रममा विप्लवलाई स्वागत गर्न आफू तयार रहेको बताएका थिए ।

