नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने : प्रम ओली

spot_img

काठमाडौं, २७ फागुन । विश्व मिर्गौला दिवसका अवसरमा बुधबार आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् ।

उनले छिट्टै सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको जानकारी दिए ।

‘मिर्गौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले समेत दुईपटक मिर्गाैला प्रत्यारोपण गराइसेका छन्।

‘हाम्रो खानपिन वा दैनिकीमा मिर्गौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुरालाई ध्यान दिन जरुरी छ,’ उनले भने । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको जनाउँदै उनले मिर्गौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै सजग हुनुपर्ने बताए ।

पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए । ‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिए,’ उनको भनाइ थियो ।

मिर्गौला रोगजस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओली सम्बोधनपछिको प्रभातफेरीमा पनि सहभागी भएका थिए । वसन्तपुरबाट सुरु भएको प्रभातफेरी रत्नपार्क, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेको थियो ।

वरिष्ठ मिर्गौला रोगविशेषज्ञ डा ऋषिकुमार काफ्ले वर्षेनी नेपालमा तीन हजार व्यक्तिको मिर्गौला बिग्रने गरेको बताए । उनले जीवनशैली, खानपान ख्याल नगर्दा मानिसको मिर्गाैला बिग्रने गरेको बताए । अस्वस्थकर जीवनशैली, पानीको कमी, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नराउनुजस्ता कारणले मिर्गौला रोग लाग्ने गर्छ ।

उनका अनुसार मिर्गौला रोगबाट बचाउनका लागि मानिसमा जनचेतना जगाउन आवश्यक छ । ‘बिग्रँदो जीवनशैली र खानपान सन्तुलन नराख्दा मानिसको मिर्गौला बिग्रने गरेको छ,’ उनले भने, ‘उपचारभन्दा पनि मिर्गौला बिग्रन नदिनका लागि मानिसलाई जनचेतना जगाउन आवश्यक छ ।’

विश्वको जनसङ्ख्यामध्ये १० प्रतिशत मानिसलाई मिर्गौला रोग लाग्छ । मिर्गौला बिग्रिएपछि प्रत्यारोपण र रक्तशुद्धीकरण दुई मात्र विकल्प हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल, सुमेरु अस्पताल र निदान अस्पतालमा गरिन्छ ।

सरकारले मिर्गौला प्रत्यारोपण र रक्तशुद्धीकरणको निःशुल्क व्यवस्था गरेको छ । डा काफ्लेका वर्षेनी पाँच हजारले डायलासिस र दुई हजार ५०० जनाले मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन् । ‘मिर्गौला रोगका साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय