पर्सामा लक्षित कुल जनसंख्याको १५ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएको तथ्य बाहिर आएको छ । लक्षित वर्गको कुल जनसंख्यामध्ये १५ प्रतिशतले कोरोना विरुद्धको खोपको पहिलो र दोस्रो मात्रा गरी पूर्ण खोप लगाएको तथ्यले कारोनाको खोपबारे सचेतनाको कमी रहेको देखाएको छ । नागरिक वर्गमा पहिलो प्राथमिकतामा परेका जेष्ठ नागरिकहरुमा खोपबारेको सचेतना न्यून देखियो । बीरगन्ज महानगरपालिकामा खोप लगाउन जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता देखिएपनि जिल्लाको ग्रामिण भेगमा भने खोप लगाउन जेष्ठ नागरिकहरुको सहभागिता निकै न्युन देखिएको समाचारमा आएको छ, जुन निराशाजनक कुरा हो । पहिलो चरणमा एक त सचेतनाको कमीले सबैले कोभिशिल्ड खोप लगाएनन् भने अर्कोतर्फ लगाएकाहरुले सो खोपको समयमा नपाउँदा अन्यौलता छाएको छ । अहिले भेरोसेल र जोनसेन खोपको प्राथमिकतामा परेका र लक्षित वर्गका मानिसले खोप लगाउदैंछन् । तर पनि खोप लगाउन सर्वसाधारणमा जुन जागरुकता आउनु पर्ने हो, त्यो देखिएको छैन । खोपको महत्वबारे जाने बुझेकाहरु मात्र खोपबाट लाभान्वित भइरहेका छन् ।
कोरोना महामारीले विश्वव्यापी अनुभवले के कुराको प्रष्ट संकेत दियो भने कोरोना भाईरस दिर्घकालिन समयसम्म रहिरहनेछ । यसको तिव्र गतिमा हुने परावर्तन क्षमताले गर्दा र देशहरुको तयारी अवस्थामा कमी हुँदा महामारीका थप छालहरु आउन सक्छन् भन्ने निश्चित छ । निकै समय बितेपछि मात्र यो कम हानिकारक जीवाणुमा परिवर्तित हुने देखिन्छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशकले चेतावनी दिए अनुसार कोभिड खोपको वितरणमा समानता नभएको हुनाले आगामी वर्ष यो भाईरसका अझै धेरै भेरियन्ट उत्पन्न हुन सक्छन् । यस्तो चेतावनीले गर्दा कोभिड महाव्याधिको परिदृष्यलाई झनै गम्भीर बनाएको छ । यता, नेपालमा कोरोनाको दोस्रो लहरको संक्रमणले न्यून हुने कुनै संकेत देखाईरहेको छैन । केही दिन स्थित रहेको कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दो छ । पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । अर्कोतर्फ कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च देखिन्छ । नेपाल असोज महिनातिर कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्यविद्हरुले बताएका छन् ।
माथि चर्चा गरिएको परिस्थिति एकातर्फ छ भने अर्कोतर्फ कोभिशिल्डको एक डोज लगाएकाले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । खोप लगाउनेबारे पनि सचेनताको कमी छ । खोप केन्द्रहरुमा खोप लगाउनेको संख्या न्युन देखिएको छ । माथि चर्चा गरिए जस्तै कोरोना भाईरस दिर्घकालिन रुपमा हटेर नजाने भएको हुँदा यस विरुद्धको खोप नै हालको अचुक औषधी हो । समग्र नेपालको कुरा गर्ने हो भने खोप लगाउने जम्मा ४ प्रतिशत रहेका छन् । पर्साको तथ्यांकबारे त शुरुमै उल्लेख छ । यस्तो अवस्थामा सरकारले लगाउनु पर्ने सबैलाई पूर्ण रुपमा खोप लगाउने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि खोप सहज र समयमा नै उपलब्धताका लागि सरकारले रणनीतिक र कार्यमुलक योजना बनाएर कार्यान्वयन तहमा लगिहाल्नु पर्छ । नेपाल आफै खोप उत्पादनका लागि सक्षम छैन । नेपालले नागरिकका लागि खोप उत्पादन गर्ने देश सामु हात फैलाउनु पर्ने बाध्यता छ । जे होस्, सरकारको पहिलो काम भनेको आफ्ना नागरिकको जीवन रक्षा गर्नु हो, यसमा सरकार खरो रुपमा उत्रनु पर्छ । अनि, नागरिकले भने खोप सहज रुपमा लिनु आवश्यक देखिन्छ । सामाजिक सन्जाल लगायत हावादारी कुराहरु सुनेर नागरिक भ्रमित भईरहेका छन् । हालसम्म जति पनि कोरोना विरुद्धका खोपहरु आएका छन्, ती सबै परिक्षण पश्चात मात्र प्रयोग भईरहेका छन् । कोरोनाको संक्रमणलाई शुन्यमा नै ती खोपले झार्छन् भन्ने कुरा प्रमाणित भई नसके पनि खोपले कोरोनाको संक्रमणसँग जुँध्न शरिरमा रोग प्रतिरोधात्मक क्षमता भन्ने अवश्य बढाउँछ, यो शत प्रतिशत प्रमाणित हो । फैलिएका र छरिएका भ्रमलाई चिर्न सरोकारवालाको भुमिकाको आवश्यकता पनि यहाँनेर छ । त्यसकारण, कोरोना विरुद्धको खोपको सुनिश्चितता र सचेतना जरुरी छ ।

