
जनकपुरधाम, मंसिर ३ ।आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा सम्पूर्ण तयारी पूरा भएको छ ।जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा निर्वाचनको अन्तिम तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।
धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ सामान्य मतदान स्थल रहेका छन् ।
प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।
धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाइएका छन् । ८ मध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन् ।
निर्वाचन सुरक्षाका लागि धनुषामा ६ हजार सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले जिल्लाभरिमा करिव १ सय भन्दा बढिको संख्यामा मोबाइल गस्ती टोलीसमेत परिचालन गरिएको बताए ।
आइतबार हुने निर्वाचनमा यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।

