बीरगन्ज,१८ मंसिर – झण्डै दुई दशकपछि बीरगन्जमा नेपथ्य बायण्डको टोली संगातिक प्रस्तुतीको लागि बीरगन्ज आई पुगेको छ । सोमवार १९ गते बीरगन्जको आदर्श नगर रंशालामा आयोजना हुने कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको तथा मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरी ७० जनाको विशाल टिमसहित नेपथ्य टोली शनिबार बेलुकी बीरगन्ज आइपुगेको छ ।
पाँचवटा ट्रक र दुईवटा बसहरुमा वायण्डको टोलीलाई शनिबार बेलुकी नै बीरगन्ज पुगेको आयोजक मानवसेवा आश्रम बीरगन्जले जनाएको छ । यसअघि शुक्रबार बेलुकी नेपथ्यले बिराटनगरस्थित हाटखोला मैदानमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरेको थियो ।
नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत बिराटनगरपछि नेपथ्यले वीरगन्जका दर्शकमाझ दोश्रो प्रस्तुती दिनलागेको हो ।
संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा नेपथ्यले मुलुकभरको यात्रा गर्नलागेको हो । यस क्रममा नेपालको पूर्वीदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ। यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।
सोमबारको प्रस्तुतीका लागि आदर्शनगर रंगशालामा मञ्च बनाउने काम अघि बढिसकेको छ भने आइतबार बेलुकी आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो ।
नेपथ्यले पछिल्लोपटक झण्डै बीस वर्षअघि वीरगन्जमा आफ्नो प्रस्तुती दिएको थियो । ‘शान्तिको लागि शिक्षा’ अन्तर्गत आयोजित त्यो कन्सर्ट टाउनहलमा गरिएको थियो भने खुला आकाशमुनी भब्य मञ्च तयार पारेर वीरगन्जमा नेपथ्यले लोक रक सुनाउन लागेको यो पहिलोपटक हो ।
‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम वीरगन्जवासीका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको बीरगन्जस्थित संयोजक सुमन बर्तौलाले बताए । सोमवार बेलुका ८ बजे सम्म आयोजना हुने कार्यक्रमको लागि सुरक्षा व्यवस्था पोख्त बनाएको तथा बिधार्थीहरुलाई ५० प्रतिशत छुट टिकट उपलब्ध हुने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रवेशको लागि १ हजारको टिकट उपलब्ध भइरहेको तथा अनलाईन मार्फत पनि टिकट उपलब्ध हुने आयोजक मानव सेवा आश्रमले जनाएको छ ।

