जनकपुरधाम, पौष १४ । जनकपुरधाम उद्योग वाणिज्य संघले बिहीबारदेखि नगरका चोकचोकमा दाउरा बाल्न सुरु गरेको छ । अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएसँगै जनकपुरधाम उद्योग वाणिज्य संघले विभिन्न निकायहरूको समन्वयमा नगरका चोकहरूमा दाउरा बाल्न सुरु गरेको हो । बजारमा किनमेलका लागि निस्कने मानिसलाई जाडोले मुस्किल परेको र बाहिरबाट आउने पर्यटकहरू पनि प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै नगरका चोकचोकमा दाउरा बाल्न थालिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
अत्याधिक चिसो र शितलहर भएपछि नगरबासीलाई राहत पुगोस् भन्ने उद्देश्यले मुख्य चोकहरूमा दाउरा वितरणसहित आगो ताप्ने व्यवस्था गरिएको उनले बताए । उनले बिहीबार पहिलो दिन ६ ठाउँमा मात्र दाउरा बालिएपनि आगामी दिनमा जाडोको अवस्थालाई मध्यनजर गर्दै नगरभित्रका अधिकांश स्थानमा यस्तो व्यवस्था मिलाइने बताए।
जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी बल धनुषा, नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा दाउरा बालिएको उनले जानकारी दिए । अध्यक्ष महासेठले जाडो अवधिभरका लागि यसलाई निरन्तरता दिइनेसमेत बताए ।
विगतका वर्षहरूमा पनि जिल्ला वन कार्यालयसँग समन्वय गरेर ठाउँ ठाउँमा अगेना बाल्ने कार्य गरिन्थ्यो । बुधबारदेखि तराईमा शितलहरको प्रकोप सुरु भएको छ ।

