जनकपुरधाम, माघ २ ।

आइतबार भएको यती एअरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा ज्यान गुमाउने मृतकहरुको चिरशान्तिको कामना गर्दै जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ।
सोमबार साँझ विभिन्न समूहहरुले जनकपुरधामका विभिन्न स्थानहरुमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरेका हुन्।



लायन्स क्लब अफ जनकपुरधाम र लियो क्लब अफ जनकपुरधामले स्थानीय रेल्वे स्टेशनमा,लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधाम नगर कार्यसमितिले जानकी मन्दिरमा,नेपाल विद्यार्थी संघ रा. रा. ब. इकाई कमिटी ,जनमत पार्टी धनुषाले जनक चोकमा,जीरोमाईल समाजले जीरोमाईल प्राङ्गणमा, व्याहुत सेवा समितिले कलवार कुटीमा दीप प्रज्वलन गरेका हुन् ।
आइतबार पोखरामा भएको यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् ।

