काठमाडौँ,१५ वैशाख । राजधानीमा बस्ती हटाउने अभियानपछि विस्थापित भएका नागरिकहरूको संख्या बढ्दै गएको छ। दशरथ रंगशाला मा मंगलबार मध्याह्नसम्म १,०७८ भन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका छन्।
हालै थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा लगायत क्षेत्रमा भएको बस्ती हटाउने अभियानपछि प्रभावित परिवारहरू सम्पर्कमा आउन थालेका हुन्। सरकारी अनुमान अनुसार दर्ता भएका परिवारमा करिब ४ हजारभन्दा बढी व्यक्ति छन्, जसमा १,५०० भन्दा बढी बालबालिका रहेको प्रारम्भिक विवरण छ।
सरकारले विस्थापित नागरिकको विवरण संकलन र अस्थायी व्यवस्थापनका लागि दशरथ रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ। त्यहाँ फारम भरेपछि उनीहरूलाई विभिन्न पाँच वटा ‘होल्डिङ सेन्टर’मा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ।
विवरण संकलनको काम बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरण ले संयुक्त रूपमा गरिरहेका छन्। रंगशालामा स्वास्थ्य परीक्षण र खाना वितरणको व्यवस्था समेत गरिएको छ, जसको समन्वय काठमाडौँ महानगरपालिका ले गरिरहेको छ।
थापाथली, सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रबाट विस्थापित भएकाहरू क्रमशः दर्ता प्रक्रियामा सहभागी भइरहेका छन्। दर्ता भएपछि उनीहरूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टर तथा माछापोखरी र नयाँ बसपार्क आसपासका होटल तथा लजमा अस्थायी रूपमा राखिएको छ।
बस्ती हटाउने प्रक्रिया र विस्थापित नागरिकको व्यवस्थापनलाई लिएर सरकार र स्थानीय निकायबीच समन्वय बढाइएको भए पनि दीर्घकालीन समाधानबारे अझै स्पष्ट योजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

