काठमाडाै,१५ वैशाख । सरकारद्वारा विद्यार्थी संगठन खारेज गर्ने तयारी गरिएको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्। मंगलबार संयुक्त विद्यार्थी संगठनले मार्चपाससहित प्रदर्शन गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।
प्रदर्शनकारीहरूले विश्वविद्यालयभित्रका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र अन्य विद्यार्थी संगठनको अस्तित्व समाप्त पार्ने प्रयास अस्वीकार्य रहेको बताएका छन्। “विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाऊ”, “स्ववियु खारेज गर्न पाइँदैन” जस्ता नारासहित उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।
विद्यार्थीहरूको माग केवल संगठनको अस्तित्वमा सीमित छैन। उनीहरूले विद्यालय शिक्षा विधेयक सार्वजनिक गर्न, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर्न, बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूको ‘व्यारेकीकरण’ रोक्न, मेरिटोक्रेसी लागू गर्न र यातायातमा दिइँदै आएको ४५ प्रतिशत विद्यार्थी छुट कायम गर्न पनि माग गरेका छन्।
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष मदन ढकालले सरकारका निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनका अनुसार अब देशभरका क्याम्पसहरूमा स्ववियुमार्फत विरोध कार्यक्रम विस्तार गरिनेछ।
विद्यार्थी नेताहरूले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी संगठनको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै यस्तो निर्णयले सरकारलाई नै अप्ठ्यारोमा पार्न सक्ने चेतावनी दिएका छन्।

