मोरङमा नेपाल–भारत होमियोप्याथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन सुरु

spot_img

मोरङ, ०६ पुस । मोरङकाे विराटनगरमा पहिलो पटक नेपाल–भारत होमियोप्याथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन सुरु भएको छ। शनिबारदेखि सुरु भएको दुई दिने सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।

सम्मेलनमा नेपाल होमियोप्याथिक चिकित्सक संघका महासचिव रवि प्रकाश रोयले होमियोप्याथिक मेडिकल काउन्सिल गठन गर्न सरकारसमक्ष माग गरे ।

२०४७/०४८ सालमा होमियोप्याथिक संघको स्थापना भएको बताउँदै महासचिव रोयले छुट्टै होमियोप्याथिक मेडिकल काउन्सिल, कलेज, तथा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

मुलुकमा होमियोप्याथिक औषधि उत्पादन कम्पनी नरहेको जनाउँदै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै होमियोप्याथिक औषधि उत्पादक कम्पनी सञ्चालन गर्नका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयमा होमियोप्याथिक डेस्क राख्नुपर्नेमा जोड दिँदै उनले महाशाखामा समेत छुट्टै होमियोप्याथिक विभाग राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले होमियोप्याथिक मेडिकल काउन्सिल स्थापनाका लागि केन्द्र सरकारसमक्ष आवश्यक पहलकदमी लिने बताए ।

होमियोप्याथिक सेवाको नकारात्मक असर नहुने बताउँदै मुख्यमन्त्री कार्कीले यसको उपचारसँगै औषधि र विकासमा सरकारले विशेष चासोसहित काम गर्ने प्रतिबद्धता जनाए। यो चिकित्सा प्रणाली सहज र सरल भएको हुँदा नागरिकको स्वास्थ्य उपचारमा कुनै नकारात्मक असर नहुने उनले बताए ।

कार्यक्रममा होमियोप्याथिक क्षेत्रमा विशेष योगदान पुर्‍याएका चिकित्सक जीवनप्रकाशलाई लाइफटाइम अचिभमेन्टले सम्मान गरिएको थियो ।

सम्मेलनमा नेपाल र भारतका गरी ३१५ भन्दा बढी होमियोप्याथिक चिकित्सक तथा प्राक्टिस्नरहरुको सहभागिता रहेको छ। जसमा सातै प्रदेशबाट करिब १८० जना होमियोप्याथिक चिकित्सक र प्राक्टिस्नरको सहभागिता रहेको छ ।

सम्मेलनमा भारतको मुम्बईको रिलायन्स अस्पतालबाट आएका क्यान्सर रोग विशेषज्ञ डा. फारुख जे मास्टरले प्रशिक्षण दिनेछन्। मोरङमा करिब ६० जना होमियोप्याथिक चिकित्सक तथा प्राक्टिस्नर रहेको संघले जनाएको छ ।

मुलुकमै पहिलो पटक विराटनगरमा ०५९ सालमा होमियोप्याथिक कलेज सुरु गरेको थियो। तर, विविध कारण कलेजले निरन्तरता पाउन नसकेपछि कलेज बन्द भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय