काठमाडौं, १६ पुस ।नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन तोकिएको समयमा नगरी, आम निर्वाचनपछि गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले आज पत्रकारहरूसँगको कुराकानीमा महाधिवेशनको समयबारे आफ्नो विचार राख्दै भने, “विसं २०८४ मा आम निर्वाचन हुनेछन्। त्यसको दुई वर्षअघि नै महाधिवेशन हुनुपर्ने हो, तर यदि समय छैन भने निर्वाचनपछि महाधिवेशन गरिनु उपयुक्त हुन्छ।”
नेता कोइरालाले महाधिवेशन तोकिएको समयमा गर्दा पार्टीभित्रको असन्तुष्टि कम हुँदै जान्छ भने, आम निर्वाचनको मुखमा महाधिवेशन गर्दा पार्टीको आन्तरिक तिक्तता चुनावमा असर गर्न सक्ने आशंका व्यक्त गरे।
उनले पार्टीको भविष्यको नेतृत्वमा एकता र सामूहिक विचारको महत्त्वलाई जोड दिँदै भने, “कोइराला परिवार एक होइन, विचार एक हुनु पर्छ।” महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको भन्दै उनले पार्टीलाई एक ढिक्का बनाउने, गुट–उपगुटको अन्त्य गर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र नेता–कार्यकर्ताबीच बराबरीको व्यवहार सुनिश्चित गर्ने आवश्यकता औंल्याए।

